काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आफूविरुद्धको आलोचना दवाउन सामाजिक सञ्जाल बन्द गर्ने जस्तो कदम चालेको आरोप लगाएका छन्।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै प्रचण्डले भने, “वर्तमान सरकारले सामाजिक सञ्जालमार्फत भएको आलोचनालाई मुद्दा, धम्की र नियन्त्रणमार्फत रोक्ने अभ्यास गर्दै आएको छ। संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लङ्घन गर्दै सामाजिक सञ्जाल नै बन्द गर्ने निर्णय गर्नु अत्यन्तै आपत्तिजनक कदम हो।”

advertisement

उनले सरकारले चालेको निर्णयलाई संविधान विरोधी, अलोकतान्त्रिक र जनविरोधी मात्र नभई सर्वोच्च अदालतको आदेशको अपव्याख्या समेत भएको दाबी गरे।

प्रचण्डका अनुसार सामाजिक सञ्जाल बन्दले विदेशमा रहेका नेपाली श्रमिक र उनीहरूको परिवारबीचको सम्पर्क टुटाउने मात्र होइन, अर्थतन्त्रमा उनीहरूले दिँदै आएको योगदानलाई समेत प्रभावित पारेको छ। “वैदेशिक रोजगारीमा रहेका नेपालीको परिवारसँगको सञ्चारलाई अवरुद्ध गर्नु सरकारको घोर संवेदनहीनता हो,” उनले भने।

सामाजिक सञ्जाललाई नियन्त्रण नभई उचित नियमन चाहिने धारणा दोहोर्‍याउँदै प्रचण्डले कार्यकारी आदेशमार्फत सञ्जाल बन्द गर्नु अस्वीकार्य रहेको प्रष्ट पारे। “हाम्रो पार्टी सञ्जालको नियन्त्रण होइन, प्रभावकारी र पारदर्शी नियमनको पक्षमा छ। संसदमा विचाराधीन विधेयकलाई सरोकारवालाको सहभागितासहित अघि बढाउनुपर्नेमा सरकारले हठात् बन्द गर्ने निर्णय गरेको छ, जुन जनतामाथिको अन्याय हो,” उनको भनाइ छ।

प्रचण्डले सरकारलाई तत्काल निर्णय फिर्ता लिन आग्रह गर्दै भने, “संविधान प्रदत्त अधिकार र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण हाम्रो सामूहिक जिम्मेवारी हो। यस कारण सरकारलाई यस कदम तत्काल खारेज गर्न म कडा माग गर्दछु।” 

प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com