धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सम्मानमा एक सडकलाई ‘जेनजी मार्ग’ नामकरण गर्ने घोषणा गरेका छन्।
मेयर हमालले सामाजिक सञ्जाल फेसबुकमार्फत पोस्ट गर्दै आन्दोलनका क्रममा जीवन समर्पण गर्नेहरूलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। उनले लेखेका छन्, जेनजी आन्दोलनमा शहीद भएका सम्पूर्ण वीर आत्माहरूको बलिदान केवल इतिहासमा मात्र सीमित हुने छैन, यो देशका प्रत्येक युवाको मुटुमा दीप बनेर जलिरहनेछ।
उनले न्याय, अधिकार र परिवर्तनका लागि प्राण अर्पण गर्नेहरूको साहस सबैका लागि प्रेरणाको स्रोत बन्ने उल्लेख गर्दै, शहीदहरूको सम्मानमा उपमहानगरपालिकाले ठोस कदम चाल्ने बताए।
उनका अनुसार धनगढी–१ को जोशी मेडिकल चोकदेखि पार्क मोड कबर्ड हल हुँदै शहीद गेट क्याम्पस रोड छुने सडकलाई ‘जेनजी मार्ग’ नामकरण गर्ने प्रस्ताव कार्यपालिका बैठकमा लैजाने तयारी छ।
मेयर हमालले उक्त सडकलाई ‘जेनजी मार्ग’का रूपमा प्रयोग गर्न सम्पूर्ण नगरवासीलाई अपिलसमेत गरेका छन्।
प्रकाशित मिति: १ आश्विन २०८२, बुधबार













प्रतिक्रिया