काठमाडौं । गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीलाई मतदान अधिकार सुनिश्चित गर्ने सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
बिहीबार निर्वाचन आयोगमा भएको छलफलमा भाग लिँदै मन्त्री अर्यालले समानुपातिक प्रणालीमार्फत भए पनि प्रवासमा रहेका नेपालीलाई मतदान गर्न सक्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए। ‘सर्वोच्चले आदेश दिएको धेरै भइसकेको छ। विदेशमा रहेका नेपालीलाई अब मतदानको अवसर दिनैपर्छ। सकेसम्म सबैलाई समेट्ने मेरो प्रयास हुनेछ,’ उनले भने।
उनले प्राविधिक कठिनाइ भएका देशबाहेक जहाँ सम्भव छ, त्यहाँ मतदान प्रक्रिया कार्यान्वयन गरिने उल्लेख गर्दै राजदूतावासमार्फत पनि आवश्यक व्यवस्था गर्न सकिने बताए। ‘राज्यले प्रविधिको प्रयोग गरेर युवा पुस्तालाई राजनीतिको मूलधारमा ल्याउनुपर्छ। उनीहरूलाई निर्वाचनमा सहभागी हुने अवसरबाट वञ्चित गर्न मिल्दैन,’ मन्त्री अर्यालले भने।
उनले यस विषयमा नेपाल सरकार सक्रिय हुने र निर्वाचन आयोगले पनि सहजीकरण गर्ने विश्वास व्यक्त गरे।
प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार













प्रतिक्रिया