काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी कार्यालय डढेर खरानी भए पनि एमालेको इच्छाशक्ति अझै जीवित रहेको बताएका छन्। संविधान दिवसका अवसरमा शुक्रबार च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले विपरीत परिस्थिति सामना गरेर अघि बढ्ने दृढता व्यक्त गरे।

उनले भने, ‘कार्यालय डढेर खरानी भयो, तर हाम्रो इच्छाशक्ति मरेको छैन। यो कहिल्यै मर्दैन। यस्तो चुनौती देखेर आत्तिनु वा हताश हुनु पर्दैन, हामी यसलाई सामना गरेर फेरि अघि बढ्छौं।’

advertisement

दुर्भाग्यपूर्ण घटनाले मुलुकलाई दुःखी बनाएको उल्लेख गर्दै पोखरेलले एमालेका नेता–कार्यकर्तालाई कुनै परिस्थितिले विचलित नगराउने विश्वास व्यक्त गरे। उनका अनुसार पार्टी विगतमा पनि अनेकौं आन्तरिक कमजोरी र बाह्य शत्रुतापूर्ण वातावरणका बीचमा संघर्ष गर्दै गौरवपूर्ण यात्रामा अघि बढिसकेको छ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान नेपाली जनताको लामो संघर्षको उपलब्धि भएको स्मरण गराउँदै यसलाई कसैले दानस्वरूप दिएको नभएको स्पष्ट पारे। ‘संविधान दिवस मुलुकलाई नयाँ उचाइमा पुर्‍याउने नेपाली जनताको सामूहिक संकल्पको प्रतीक हो,’ उनले भने।

उनले सबैलाई राष्ट्रिय दिवसमा एकता प्रदर्शन गर्दै कठिनाइबीच पनि अघि बढ्न आह्वान गरे।

प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com