काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङसँग नेपालस्थित जापानका राजदूत माएदा तोरुले सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटमा राजदूत तोरुले मन्त्री घिसिङलाई जापानतर्फबाट बधाई एवं सफल कार्यकालको शुभकामना दिएका हुन्। साथै नेपाल–जापान बीचको दीर्घकालीन विकास साझेदारी, द्विपक्षीय अनुदान, ऋण, बहुपक्षीय तथा प्राविधिक सहयोग र हाल सञ्चालनमा रहेका परियोजनाको प्रगतिबारे विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।
वार्तामा नागढुङ्गा सुरुङ निर्माणका लागि आवश्यक थप सहायता, बिपी राजमार्ग पुनःनिर्माण, १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना, कोटेश्वर चोक सुधार, विद्युत् प्रसारण र वितरण प्रणाली सुधारलगायतका परियोजनाका विषयमा चर्चा भएको थियो।
मन्त्री घिसिङले जापानको योगदानले नेपालको विकास प्राथमिकताका क्षेत्रमा महत्वपूर्ण सहयोग पुगेको भन्दै, विद्युत् क्षेत्रमा रणनीतिक महत्वका ६७० मेगावाट क्षमताको दूधकोशी, १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त आयोजना, पूर्वाधार परियोजना तयारी, र काठमाडौँ उपत्यकाको १०० वर्षे सहरी व्यवस्थापनका लागि एकीकृत गुरुयोजना जस्ता सम्भावित क्षेत्रमा सहयोग उपलब्ध गराउन आग्रह गरे।
जापानका राजदूत माएदा तोरुले नेपालका रणनीतिक महत्वका ठूला परियोजनामा सहयोग जारी राख्न जापान तयार रहेको स्पष्ट पारे।
प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार













प्रतिक्रिया