काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति विशेष महाधिवेशन आयोजक समितिमा रूपान्तरण भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार प्रज्ञा भवनमा सम्पन्न केन्द्रीय समिति बैठक समापन गर्दै उक्त घोषणा गरेका हुन् ।

बैठकपछि बाहिरिँदै प्रचण्डले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘म आजदेखि अध्यक्ष होइन, संयोजक भएको छु ।’ उनका अनुसार तोकिएको मितिमै महाधिवेशन सम्पन्न गर्न पार्टीले आवश्यक पहल गर्नेछ । प्रचण्डको प्रस्तावअनुसार आगामी मंसिरमा विशेष महाधिवेशन आह्वान गर्ने निर्णय गरिएको छ ।

advertisement

महाधिवेशन प्रतिनिधि चयनका विधि र जेनजीको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रावधानसमेत प्रचण्डले यसअघि प्रस्तुत गरिसकेका थिए । बिहीबारको बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले फरक–फरक प्रस्ताव पेस गरेका थिए । तीमध्ये प्रचण्डको प्रस्तावलाई अधिकांश सदस्यले समर्थन गरेका छन् ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले प्रतिनिधिसभा निर्वाचन (फागुन २१) पछि महाधिवेशन गर्नुपर्ने धारणा राखेका थिए भने उपमहासचिव शर्माले वर्तमान पदाधिकारीलाई कायम राख्दै आंशिक नयाँ टिमसहित महाधिवेशनमा जाने प्रस्ताव गरेका थिए ।

तर, छलफल र समूहगत निष्कर्षपछि १० वटै समूह प्रचण्डकै प्रस्तावतर्फ उभिएका नेताहरूले बताएका छन् । ‘९५ प्रतिशतभन्दा बढी समर्थन प्रचण्डकै प्रस्तावमा केन्द्रित छ । केही सदस्य तटस्थ रहे, भने थोरै मात्र समर्थन शर्माको पक्षमा गएको छ,’ एक नेताले जानकारी दिए ।

समूहगत निष्कर्षसँगै पदाधिकारीहरूले पनि धारणा राखेका थिए । राम कार्कीबाहेक सबैजसो पदाधिकारीले प्रचण्डको प्रस्तावलाई समर्थन जनाए । कार्कीले भने प्रदेश अध्यक्षलाई निरन्तरता दिँदै बाँकी संरचना विघटन गरेर महाधिवेशनतर्फ जाने विकल्प अघि सारेका थिए ।

यससँगै माओवादी केन्द्र अब मंसिरमा विशेष महाधिवेशन गर्ने तयारीमा आधिकारिक रूपमा प्रवेश गरेको छ ।

प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com