काठमाडौं । विघटित प्रतिनिधि सभाका १६ जना पदाधिकारीहरूले सुविधा स्वरूप प्रयोग गर्दै आएका सवारी साधनहरू फिर्ता गरेका छन् ।

संसद् सचिवालयको सवारी शाखा प्रमुख प्रदीप नेपालका अनुसार १२ वटा विषयगत समितिका सभापति र चार जना प्रमुख सचेतक तथा सचेतकले आफूहरूलाई तोकिएका गाडीहरू सचिवालयमा बुझाएका हुन् ।

advertisement

प्रतिनिधि सभामा १० वटा विषयगत समिति र प्रतिनिधि सभा सदस्यकै संयोजनमा गठन भएका दुई संयुक्त समितिहरू थिए । ती सबै समितिका सभापतिहरूले पनि आफ्नो सवारी सुविधा फिर्ता गरेका छन् ।

त्यस्तै, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक र सचेतकले समेत प्रयोगमा रहेका गाडी बुझाएका छन् । यद्यपि, नेपाली कांग्रेसका प्रमुख सचेतक र सचेतकको गाडी भने जलेको अवस्थामा रहेको छ ।

गत भदौ २४ गते सिंहदरबारस्थित संसद सचिवालय परिसरमा लागेको आगलागीमा कांग्रेस र एमाले दुवैको संसदीय दल कार्यालय जलेको थियो । सोही घटनामा कांग्रेसका प्रमुख सचेतक र सचेतकको गाडी पनि आगलागीबाट नष्ट भएको सचिवालयले जनाएको छ ।

सरकारले हाल मितव्ययिता नीति अपनाउँदै पूर्वपदाधिकारीहरूले प्रयोग गरिरहेका सरकारी सवारी साधन फिर्ता गराउने निर्णय गरेपछि संसद् सचिवालयले पनि त्यसअनुसार कार्य अघि बढाएको हो । सचिवालयका अनुसार अब पूर्वसभामुख र राष्ट्रिय सभाका पूर्वअध्यक्षहरूले प्रयोग गरिरहेका गाडी फिर्ता गराउन पनि तयारी भइरहेको छ ।

प्रकाशित मिति: ११ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com