काठमाडौं । नेकपा एकीकृत समाजवादीले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) सँग संवाद सुरु गरेको छ । पार्टी एकता र वामपन्थी–समाजवादी मोर्चा सुदृढ पार्ने उद्देश्यसहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जसपाका अध्यक्ष राईसँग भेट गरेका हुन्।

एक नेताका अनुसार, उक्त अनौपचारिक भेटमा अध्यक्ष नेपालसहित उपाध्यक्ष बेदुराम भुसाल र उपाध्यक्ष प्रकाश ज्वालालगायत नेताहरू उपस्थित थिए। भेटमा मुख्य रूपमा पार्टी एकताको सम्भावित सम्भावना र आगामी राजनीतिक रणनीतिबारे छलफल भएको थियो।

advertisement

एक नेताले भने, ‘हामीले केवल जसपा मात्रसँग एकता गर्ने कुरा गरिरहेका होइनौं। माओवादी केन्द्र, नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपा लगायत अन्य वामपन्थी र समाजवादी पार्टीसँग समेत वार्ता भइरहेको छ। यही सिलसिलामा अशोक राईसँग भेट भएको हो।’

जसपाका अध्यक्ष राईले कम्युनिष्ट नाम र झण्डा एमाले छाडेपछि मात्र पार्टीमा सक्रिय भएको बताएका छन्। तर, उनले कार्यगत एकता वा मोर्चामा नजिकिएर अघि बढ्न सकिने सम्भावना खुला राखेका छन्।

एकीकृत समाजवादीले विभिन्न पार्टीसँग एकता वार्ता अघि बढाउन उपाध्यक्ष भुसालको नेतृत्वमा वार्ता टोली गठन गरेको छ। टोलीमा वरिष्ठ नेता प्रमेश हमाल र उपाध्यक्ष ज्वालालगायत सदस्य छन्। उपाध्यक्ष ज्वालाका अनुसार टोलीले पार्टी एकताको सैद्धान्तिक आधार तयार गर्ने जिम्मेवारी पाएको छ।

सैद्धान्तिक आधारमा पार्टीको नाम, नेपाली क्रान्तिको अवस्था, वर्तमान समाजको प्रधान अन्तर्विरोध, र मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने विषयमा छलफल भइरहेको छ। यद्यपि, जसपा यी विषयमा अझै सहमत भएको छैन।

माओवादी केन्द्र, नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी र एकीकृत समाजवादी चारै पार्टी संगठनात्मक सिद्धान्तमा जनवादी केन्द्रीयता र रणनीतिक लक्ष्यमा वैज्ञानिक समाजवादको पक्षमा सहमत छन्।

स्रोतका अनुसार, यदि चार पार्टीबीच पूर्ण एकता संभव भएन भने मोर्चा निर्माण गरी जसपालाई पनि समावेश गर्ने प्रयास भइरहेको छ। यसै क्रममा अध्यक्ष नेपालसहितका नेताहरूले जसपा अध्यक्ष राईसँग संवाद गरेका हुन्।

प्रकाशित मिति: ११ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com