काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र संस्थापनइतर पक्षका नेता डा. शेखर कोइरालाबीच शनिबार भेटवार्ता भएको छ। सभापति देउवा निकट एक केन्द्रीय सदस्यका अनुसार उक्त भेटमा पार्टीभित्रको वर्तमान स्थिति, आगामी महाधिवेशन र नेतृत्वको भूमिकाबारे कुराकानी भएको हो।

जेन–जी आन्दोलनपश्चात् देउवामाथि निवासमा भएको कुटपिटपछि उनी हाल महाराजगञ्जस्थित एक घरमा उपचाररत छन्। त्यही घरमा डा. कोइराला शनिबार भेट गर्न पुगेका थिए।

advertisement

संस्थापन पक्षका एक नेताका अनुसार भेटका क्रममा कोइरालाले कार्यवाहक सभापतिको विषय उठाए पनि देउवाले त्यसमा सहमति नजनाउँदै ‘विधानले अनुमति नदिने’ स्पष्ट जवाफ दिएका थिए।

उनका शब्दमा, ‘सभापतिले साथीहरूसँग सल्लाह गरेर निर्णय गरौंला भने पनि कार्यवाहक दिने व्यवस्था विधानमा नहुँदा अहिले त्यो सम्भव छैन भन्ने धारणा राख्नुभयो।’

तर, शेखर पक्षका नेताहरू भने कार्यवाहकको माग नभई नियमित महाधिवेशनको तयारीबारे मात्र छलफल भएको बताउँछन्। एक शेखर निकट केन्द्रीय सदस्यका अनुसार, ‘शेखर दाइले मंसिर मसान्तसम्म महाधिवेशन गर्न नसके १५ दिन थपेर भए पनि सम्पन्न गर्नुपर्ने प्रस्ताव राख्नुभएको हो।’

त्यो भेटमा देउवाले कार्यवाहक दिन्छु भने पनि शेखरले त्यो अस्वीकार गर्ने धारणा व्यक्त गरिएको उनीहरूको दाबी छ।

यसअघि पार्टीको शीर्ष नेताको बैठकमा नेता बलबहादुर केसीले शेखरको नाम नलिई कार्यवाहक तोक्नुपर्ने सुझाव दिएका थिए। उनले गिरिजाप्रसाद कोइरालाले शेरबहादुर देउवालाई ल्याएर वरिष्ठ नेता बनाएको उदाहरण दिँदै ‘विगतका नजिर हेर्नुपर्ने’ बताएका थिए।

उनको भनाइलाई प्रवक्ता डा. प्रकाशशरण महतले समर्थन गरेका थिए भने नेता गोपालमान श्रेष्ठले वर्तमान समिति भंग गरी आफूलाई कार्यवाहक तोक्नुपर्ने धारणा राखेका थिए।

यसैबीच, केही नेताहरूले सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिने सम्भावना रहेको बताएका छन्। पार्टी वरियतामा देउवा पछि खड्का नै दोस्रो वरिष्ठ नेता हुन्।

कार्यसम्पादन समितिका एक सदस्यका अनुसार, ‘सभापतिले उपचारका लागि विदेश जाने तयारीमा हुनुहुन्छ। त्यस अवधिमा पूर्ण दाइलाई कार्यवाहक तोक्ने र फर्किएपछि पुनः जिम्मेवारी सम्हाल्ने योजना हुन सक्छ।’

प्रकाशित मिति: २६ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com