काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (टेलिकम) का तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनामाथि दायर भएको भ्रष्टाचार मुद्दा विशेष अदालतमा सुनुवाइका लागि पेशी तोकिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीश हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा मुद्दा विचाराधीन हुने भएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलसहितका १८ जनाविरुद्ध ३३ करोड रुपैयाँ बिगो मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उनीहरूलाई टेलिकमको बिलिङ प्रणाली (Billing System) अपग्रेड गर्ने क्रममा मिलेमतो गरी आर्थिक अनियमितता गरेको अभियोग लगाइएको छ।

advertisement

२०७८ पुस ६ गते तत्कालीन प्रबन्ध निर्देशक पौडेलको नेतृत्वमा टेलिकमले चिनियाँ कम्पनी एशियाइन्फो लिंकेज टेक्नोलोजीसँग कन्भर्जेन्ट रियल–टाइम बिलिङ एण्ड कस्टमर सपोर्ट (CRTB & CS) प्रणाली विकास र सञ्चालनका लागि सम्झौता गरेको थियो।
यस परियोजनाको उद्देश्य मोबाइल, इन्टरनेट, फाइबर, लिज्ड लाइन, वायरलाइन र वायरलेस ब्रॉडब्यान्डजस्ता सबै सेवा एउटै प्लेटफर्ममा एकीकृत गरी रियल–टाइम शुल्क गणना र अद्यावधिक गर्ने प्रणाली विकास गर्नु थियो।

सम्झौताअनुसार वार्षिक मर्मत सम्भार (AMC) सेवा ६ वर्षसम्मका लागि उपलब्ध गराइने र हरेक वर्ष ५ प्रतिशत घट्दो दरमा भुक्तानी हुने व्यवस्था थियो। तर, अख्तियारका अनुसार पौडेल र अन्य प्रतिवादीहरूले यस व्यवस्थाविपरीत अस्वाभाविक मूल्य कायम गरी टेलिकमलाई आर्थिक क्षति पुर्‍याएका छन्।

प्रारम्भिक सम्झौताअनुसार AMC सेवाको वार्षिक लागत ३४ लाख ७२ हजार अमेरिकी डलर थियो। तर, दोस्रो वर्षमा चारवटा पूरक सम्झौता गरेर उक्त रकम बढाउँदै ३५ करोड ८६ लाख अमेरिकी डलरमा सेवा खरिद गरिएको देखिएको अख्तियारले जनाएको छ।

त्यस्तै, २०७८ असोज ६ गतेको बैठकका आधारमा पाँच वर्षका लागि नयाँ सम्झौता गर्दा १ करोड ६० लाख अमेरिकी डलरमै सिमित हुनुपर्ने रकम २ करोड ५ लाख अमेरिकी डलरमा पुर्‍याइएको, जसमा नयाँ विशेषता र तालिमबाहेक १ करोड ८५ लाख अमेरिकी डलर एएमसी वापत भुक्तानी गरिएको ठहर गरिएको छ।

अख्तियारको दाबी अनुसार, पूर्व एमडी पौडेलसहितका अधिकारीहरूले मिलेमतो गरेर कम्पनीको हानि र आफ्नो स्वार्थको लाभ हुने गरी सम्झौता परिवर्तन गरेको प्रमाण भेटिएको छ।

अब विशेष अदालतमा मुद्दाको सुनुवाइ प्रक्रिया प्रारम्भ हुनेछ। अदालतको प्रारम्भिक आदेशपछि प्रतिवादीहरूले आफ्नो जवाफ पेश गर्न पाउने छन्।

प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com