काठमाडौं । ‘जेन-जी विद्रोह’का क्रममा भदौ २३ गते संसद् भवनभित्र ३२ जना प्रदर्शनकारी थुनिएको भन्ने हल्ला सामाजिक सञ्जालभरि तीव्र रूपमा फैलियो। यो अफवाह फैलाउने मुख्य योजनाकार युट्युबर टंक दाहालले बिना कुनै प्रमाण एक्स र फेसबुकमा दलिएको पोस्ट रातारात भाइरल बनेपछि भोलिपल्टै यो हल्ला ‘३२ जनाको शव भेटियो’ भन्ने झनै डरावना दाबीमा रूपान्तरित भयो।

नेपाल प्रहरीले तत्कालै विज्ञप्ति जारी गर्दै संसद् भवनमा कोही थुनिएको वा मृत भेटिएको घटना निराधार भएको स्पष्ट पारेको थियो।

advertisement

तथ्य भन्दा अनुमानमा आधारित रहने दाहालको भिडिओमा उनले आफुलाई जे लाग्यो त्यही मात्र ठिक भन्ने भ्रामक भास्य देखाउने गरेका छन्। तर, उनलाई जे ठिक लाग्यो त्यो मात्र सहि नहुन सक्छ । त्यो दिन पनि सोही त्यस्तै भयो। संसद् भवनभित्र ३२ जना थुनिएको र तिनिहरुको हत्या समेत भएको हुनसक्ने आसय व्यक्त गरे। जसकारण उनको एक भ्रामक पोस्टले नेपाली समाज आक्रान्त बन्यो र संसद भवन मात्र जलेन सिंहदरबार पनि जल्यो। न्यायलायहरु जले।

उनको भड्काउ पोस्टले उनले जे चाहे त्यो पाए । तर, नेपाल र नेपाली जनताले देशकै सबैभन्दा ठूलो प्रशासनीक केन्द्र सिंहदरबार गुमाए। देशले महत्त्वपूर्ण डकुमेन्ट र फाइलहरु गुमायो। देशको महत्त्वपूर्ण कागजातहरु जल्दा देशलाई दीर्घकालीन असर पार्ने निश्चित छ।

तर, दाहालले आफूले फैलाएको हल्ला सत्य हो भनेर प्रमाणित गर्न उल्टै अभियान नै चलाए। उनले बनाएको नयाँ भिडियोमा तीन ‘प्रत्यक्षदर्शी’ देखाउँदै आफ्नो दाबी दोहोर्याए। तर, ती तीन ‘स्रोत’को तथ्य-जाँच गर्दा यी सबै एउटै परिवारका दुई व्यक्ति मात्र रहेको तथ्य बाहिर आयो।

दुई फरक मानिसका भनिएका क्लिप एउटै युवक साम्राज्य खड्काका थिए। तेस्रो ‘प्रत्यक्षदर्शी’ भनिएका उनका बुवा पूर्व कर्णेल माधवसुन्दर खड्का थिए।

अझ आश्चर्यजनक पक्ष के छ भने, पूर्वकर्णेल खड्का स्वयं दाहालकै भ्रामक पोस्टले प्रभावित भई भदौ २४ को राति एक टिकटक भिडियो बनाएर छोरा संसद् भवनभित्र थुनिएको हुनसक्ने आशंका प्रकट गरेका थिए। अर्थात् दाहालले प्रस्तुत गरेका ‘प्रमाण’ नै दाहालकै अफवाहबाट उत्पन्न भएको प्रतिक्रिया थियो।

दुई महिना बितिसक्दा पनि संसद् भवनभित्र कोही थुनिएको थियो भन्ने स्वतन्त्र प्रमाण एक थान पनि भेटिएको छैन।

तर, दाहालले भने निरन्तर नयाँ पोस्ट, स्क्रिनशट र क्लिप थप्दै आफ्नै अपुष्ट दाबीलाई वैध ठहर्याउने प्रयास गरिरहेका छन्। तर, उनी आफैंले प्रस्तुत गर्ने स्क्रिनशटमा विश्वसनीय प्रमाणको आधार नै छैन्।

दाहालले आफूले ‘३२ जना मारिएको’ नभई ‘थुनिएको’ मात्र भनेको तर्क गरे पनि त्यही ‘३२ जना संसद भवनमा थुनिएको’ हल्ला सबैभन्दा पहिले उनको पोस्टबाटै सुरु भएको स्पष्ट छ।

भाग्य न्यौपाने र सुजन ढकाल जस्ता अन्य युट्युबरले त्यसैलाई आधार बनाएर ‘३२ जना मारिएको’ भन्दै समाजमा झनै आतंक र भ्रम फैलाए। समाज झन आक्रोशित भयो । त्यसपछि संसद भवन मात्र होइन, सिंहदरबार समेत जल्यो।

यसरी एउटै परिवारका दुई सदस्यलाई तीन ‘प्रत्यक्षदर्शी’ को भनाईको हवला दिँदै दाहालले प्रमाणको नाटक र तथ्यको विकृति गरेको प्रष्ट देखिन्छ। त्यसमा आधारित गलत सामग्रीले नेपाली समाजमा भ्रम सिर्जनागरी आतंक र अविश्वास फैलाएको छ।

सामाजिक सञ्जालमा निरन्तर विवादास्पद सामग्री बनाउँदै अमेरिकाबाट नै नेपाली समाजलाई भड्काउने दाहालको गतिविधि बढेपछि उनको च्यानल रिपोर्ट र ब्लक गर्ने अभियान चल्न थालेको छ।

अफवाहको खेती गर्दै दर्शक र आफ्नो प्रभाव मात्र कमाउने यस्ता गतिविधिले डिजिटल माध्यममा सूचना–दुष्प्रचार कति खतरनाक रूपले बढ्दैछ भन्ने यस घटनाले फेरि एकपटक उजागर गरेको छ।

 

प्रकाशित मिति: ३० कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com