काठमाडौँ । नेपाल प्रहरीमा रिक्त एक नायब महानिरीक्षक (डीआईजी) बढुवामा चलखेल सुरुभएको छ। चन्द्रकुबेर खापुङ्ग आइजीपीबाट अवकाशप्राप्त भएपछी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्की कार्तिक २७ गते आइजीपी बनेपछि प्रहरीको एक एआइजी पद रिक्त थियो।
आइजीपीको फुली लगाएको भोलिपल्ट अर्थात कार्तिक २८ गते रिक्त एआइजीमा कोशी प्रदेश प्रहरीका प्रमुख डीआईजी ईश्वर कार्की एआईजीमा बढुवा भएपछि एक डीआईजी पद रिक्त छ। बरियतामा पहिलो नम्बरमा रहेर पनि कार्तिक ९ मा ५ जना डीआईजी बढुवा हुँदा समेत नपरेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी यो पटक न्याय पाउनेमा आशावादी देखिन्छन्।
कार्तिक ९ मा गृह मन्त्रालयका सचिव रामेश्वर दंगाल नेतृत्वको बढुवा समितिले भुपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल र अवि नारायण काफ्लेलाई बढुवा सिफारिस गरेको थियो ।
तर, एक नम्बर वरीयतामा रहेका विश्व अधिकारी बढुवाको सिफारिसमा परेनन्। २०८० वैशाख २४ मा भएको प्रहरी वरिष्ठ उपरीक्षकको बढुवामा अधिकारी पहिलो नम्बरमा थिए । तर, बढुवा समितिले पहिलो नम्बरमा रहेका अधिकारीलाई छाडेर अरूलाई सिरियल नम्बरको आधारमा बढुवा गर्न सिफारिस गरेको थियो ।
जेनजी प्रदर्शनको क्रममा एसएसपी अधिकारी काठमाडौँ जिल्लाको इन्चार्ज थिए । भदौ २३ र २४ मा भएको घटना उच्चस्तरीय जाँचबुझ आयोगले छानबिन गरिरहेको र अधिकारी पनि छानबिनको दायरामा रहेको भन्दै उनलाई बढुवामा छुटाइएको छ ।
भाद्र २३ र २४ मा भएको घटनाको विषयमा विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले घटनाबारे छानबिन गरिरहेको छ ।
छानबिन समितिले कुनै निर्णय गरेको अवस्था छैन । जाँचबुझ रिपोर्ट नआउँदै अधिकारीलाई बढुवा समितिले नै अनुमानको आधारमा ‘दोषी’ करार गर्न खोजेको प्रहरीका उच्च अधिकृतहरू बताउँछन् ।
बढुवा समितिमा आईजीपी र मानव श्रोत विकाश विभागका एआईजी सदस्य हुन्छन् । आईजीपी खापुङले आफू निकट अवि नारायण काफ्लेलाई बढुवा गर्न अधिकारीलाई छुटाएको प्रहरी उच्च स्रोतको भनाई छ ।
स्रोतका अनुसार काफ्ले र खापुङ दुवै जना तेह्रथुमका हुन् । काफ्ले एसएसपीको मेरिट लिस्टमा छैटौँ नम्बरमा थिए । पहिलो नम्बरमा रहेका अधिकारीको नाम काट्दा सोझै छैटौं नम्बरमा रहेका काफ्लेको बढुवा हुने हुँदा खापुङले आफ्नो क्षेत्रका काफ्लेलाई बढुवामा पार्न चलखेल गरेको प्रहरी उच्च स्रोतको भनाई छ।
बढुवा समितिलाई ७.५ नम्बर दिने अधिकार हुन्छ । शक्तिकेन्द्रले चाहेको मानिसलाई बढुवा गर्दा सो नम्बरमा चलखेल हुने गरेको छ ।सुशासनको नारा लिएर बनेको सरकारले विधि र प्रक्रियालाई लत्याउँदै आफू निकट व्यक्तिलाई बढुवा गर्न पहिलो नम्बरमा रहेका अधिकारीलाई पन्छाउने खेलले प्रहरी संगठन भित्रै चर्को आलोचना भईरहेको छ।
पहिलो नम्बरमा रहेका अधिकारी डीआईजी बढुवा सिफारिसमा नपरेपछि बढुवा समिती र अहिलेका गृहमन्त्रीको भुमिकामाथी पनि प्रश्न उठिरहेको छ।
हाल केही एसएसपीहरु आफू बढुवा हुने आशमा भर्खरै आइजीपी बनेका दानबहादुर कार्कीको ढोका ढकढक्याउन पुग्ने गरेका छन्। तर, डीआईजी बढुवा सिफारिसमा छुटेका विश्व अधिकारीकाे राजीनामाको चर्चाबीच उनी यो पटक न्याय पाउनेमा आशावादी देखिन्छन् ।
अपराध अनुसन्धानमा अब्बल मानिने अधिकारी काठमाडौं प्रहरी प्रमुख भएर आएपछि काठमाडौंमा गुण्डागर्दी कार्यमा सलबलाउन लागेकाहरुको समेत भागाभाग भएको थियो।
२०५५ वैशाखमा प्रहरी सहायक निरीक्षकबाट प्रहरीमा सेवा प्रवेश गरेका अधिकारीले २०५६ असारमा ३ मा इन्स्पेक्टरमा नाम निकालेका थिए । त्यसपछि उनी आफ्नो ब्याचमा सधैँ १ नम्बरमा रहेको प्रहरी अधिकृतहरू बताउँछन् ।
प्रकाशित मिति: ३० कार्तिक २०८२, आइतबार












प्रतिक्रिया