काठमाडौं । जेनजी आन्दोलनलाई पुनः संगठित र संस्थागत गर्दै अगाडि बढाउने निष्कर्षसहित राजधानी काठमाडौंमा जेनजीहरूको संयुक्त भेला सम्पन्न भएको छ। ‘पहिला देश’को संयोजनमा बिजुलीबजारस्थित क्रिष्टल पार्टी भेन्युमा आयोजित भेलामा देशभरका ३० भन्दा बढी समूहमा सक्रिय जेनजी अभियन्ताहरूको सहभागिता रहेको थियो।

भेलाले जेनजी आन्दोलनको मर्म र भावनाविपरीत सरकारका गतिविधिहरू बढ्दै गएको निष्कर्ष निकाल्दै अब पुनः संघर्षमा उत्रिनु बाहेक अन्य विकल्प नरहेको ठहर गरेको छ। कार्यक्रममा आन्दोलनका घाइतेहरू, शहीद परिवारका सदस्यहरू तथा विभिन्न क्षेत्रका विज्ञहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

advertisement

सहभागीहरूले सुशासनको आन्दोलनको जगमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनका मूल्य, भावना र अपेक्षाविपरीत काम गरेको आरोप लगाएका छन्। सरकारका यस्ता कदमले शहीदको बलिदान र घाइतेहरूको सपना खेर जाने खतरा बढेकाले आन्दोलनलाई पुनः सशक्त रूपमा अगाडि बढाउनुपर्ने साझा धारणा व्यक्त गरिएको थियो।

भेलामा जेनजीको नाममा गरिएको अपूर्ण सम्झौतालाई लिएर सरकारमाथि गम्भीर आरोप लगाइएको छ। वास्तविक जेनजी अभियन्ताहरूलाई सिंहदरबार प्रवेशमा रोक लगाइँदा आइएनजीओसँग आबद्ध व्यक्तिहरूलाई जेनजीको नाममा हस्ताक्षर गराइएको भन्दै यसलाई जेनजीहरूमाथिको अपमानका रूपमा व्याख्या गरिएको छ। शहीद परिवारको नाममा शहीदसँग प्रत्यक्ष नाता नखुल्ने तथा भ्रष्टाचारका मुद्दा खेपिरहेका व्यक्तिहरूबाट हस्ताक्षर गराइएको भन्दै उक्त सम्झौता कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारेका छन्।

यसअघि मिराज ढुंगानासहित २४ जेनजी समूहका प्रतिनिधिहरूले मागपत्र बुझाउन जाँदा प्रधानमन्त्री कार्यालयमा प्रवेश गर्न नदिइएपछि सिंहदरबारको गेटमै मागपत्र टाँसिएको र अन्ततः हुलाकमार्फत प्रधानमन्त्री कार्यालयमा पठाइएको घटनालाई पनि भेलामा स्मरण गरिएको थियो। उक्त मागपत्रप्रति सरकार गम्भीर नदेखिएको भन्दै अब जेनजी आन्दोलनलाई संस्थागत रूपमा अघि बढाउन पुनः आन्दोलनमा जानुपर्ने निष्कर्षमा जेनजीहरू पुगेका छन्।

सरकारले ‘फुटाउ र राज गर’को नीति अन्तर्गत जेनजीहरूलाई विभाजित गर्न खोजिरहेको आरोप लगाउँदै भेलाले सबै जेनजी अभियन्ताहरूलाई भ्रममा नपर्न र सचेत रहन आह्वान गरेको छ।

जेनजी अगुवा तथा जेनजीहरूलाई एकताबद्ध बनाउन सक्रिय रूपमा दौडधूप गरिरहेका सौरभ भण्डारीले अब केही दिनभित्रै स्पष्ट नेतृत्वसहित जेनजी एकताको सन्देश दिने र आगामी आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने जानकारी दिए। भेलाले जेनजीको माग पुरा नभए निर्वाचन गर्न नदिने, पारदर्शिता र शहीदप्रति न्याय सुनिश्चित नभएसम्म संघर्ष जारी रहने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

प्रकाशित मिति: १ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com