काठमाडौँ । माइतिघर मण्डलामा आज भएको संयुक्त जेनजी आन्दोलनको शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीले बल प्रयोग गरेपछि सुशीला कार्की नेतृत्वको सरकार पुनः दमनको राजनीतितर्फ उन्मुख भएको आरोप लागेको छ। संयुक्त जेनजी आन्दोलनले शान्तिपूर्ण आन्दोलनमाथि गरिएको प्रहरी हस्तक्षेपप्रति गम्भीर आपत्ति जनाउँदै सरकारको कडा भर्त्सना गरेको छ।

आन्दोलनका क्रममा प्रहरीले हस्तक्षेप गर्दा केही जेनजी प्रदर्शनकारी घाइते भएका छन् भने केहीलाई अवैधानिक रूपमा नियन्त्रणमा लिइएको संयुक्त जेनजी आन्दोलनले जनाएको छ। यद्यपि, सामूहिक गिरफ्तारीको दबाब बढेपछि नियन्त्रणमा लिइएकाहरूलाई तत्काल रिहा गर्न प्रहरी बाध्य भएको जेनजी आन्दोलनको दाबी छ। यस घटनाले सरकारको असहिष्णु र दमनकारी प्रवृत्ति उजागर भएको आन्दोलनको ठहर छ।

advertisement

संयुक्त जेनजी आन्दोलनले वार्ता र संवादमार्फत आफ्ना जायज मागहरू समाधान गर्न सरकारसहित सबै सरोकारवाला पक्षहरूसँग संवादको ढोका खुला राखिएको समेत जनाएको छ। तर, शान्तिपूर्ण आन्दोलनलाई बल प्रयोग गरेर दबाउन खोजिए आन्दोलन अझ संगठित, सशक्त र व्यापक रूपमा अघि बढ्ने चेतावनी दिएको छ।

“शान्तिपूर्ण आन्दोलनलाई उत्तेजित बनाउँदै जेनजीमाथि दमन गरिएमा त्यसबाट उत्पन्न हुने सम्पूर्ण क्षतिको जिम्मेवारी सुशीला कार्की नेतृत्वको सरकारले लिनुपर्नेछ,” प्रेस विज्ञप्तिमा भनिएको छ।

यसै सन्दर्भमा, संयुक्त जेनजी आन्दोलनले भोलि बिहान ११ बजे पुनः एकतावद्ध हुँदै अझ सशक्त रूपमा शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन जेनजी युवाहरू, नागरिक समाज, विद्यार्थी, श्रमिक, बुद्धिजीवी तथा न्यायप्रेमी सबै उमेर समुहका राष्ट्रवादी जनसमुदायलाई अपिल गरेको छ।

आन्दोलनले डर, धम्की र दमनबाट विचलित नहुने स्पष्ट गर्दै जनताको आवाज दबाउने प्रयास इतिहासमा कहिल्यै सफल नभएको उल्लेख गरेको छ। न्याय, समानता र उत्तरदायी शासन स्थापनाका लागि संघर्ष निरन्तर रहने संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुंगाना र आन्दोलन कमाण्डर सुनिल सिंहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्ति:

प्रकाशित मिति: ७ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com