काठमाडौं । मन्त्रिपरिषद्को सोमबार सिंहदरबारमा बसेको बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकपछि सरकारी प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले कुल आठवटा निर्णय सार्वजनिक गरेका छन्।
प्रमुख निर्णयअनुसार, राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओम बहादुर खड्कालाई बढुवा गर्ने निर्णय गरिएको छ।
त्यसैगरी, नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारीपत्र र नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
बैठकले अन्य निर्णयहरू यस प्रकार छन्:
१) राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओम बहादुर खड्कालाई बढुवा गर्ने निर्णय भएको छ।
२) समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य पदमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने निर्णय भएको छ।
३) जेनजी सहिद परिवारको लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय भएको छ ।
४) नेपाल सरकार र ओमान सरकार बीच हुने समझदारीपत्र स्वीकृत गर्ने निर्णय भएको छ ।
५) नेपाल सरकार र इजरायल सरकार बीच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय भएको छ ।
६) पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२ स्वीकृत गर्ने निर्णय भएको छ ।
७) वन तेस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय भएको छ ।
८) नेपाल लेखा परीक्षण सेवा समूहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा घनश्याम पराजुलीलाई बढुवा गर्ने निर्णय भएको छ ।
मन्त्री परिषद्को यी निर्णयले सरकारी प्रशासन, अन्तर्राष्ट्रिय समझदारी र देशभित्रको नीति तथा कानूनी व्यवस्थापनलाई थप सुदृढ पार्ने विश्वास व्यक्त गरिएको छ।
प्रकाशित मिति: २१ पुस २०८२, सोमबार












प्रतिक्रिया