काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनमा निवर्तमान सभापति शेरबहादुर देउवालाई प्रत्यक्षतर्फ उम्मेदवार नबनाउने सम्भावना बलियो बन्दै गएको छ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते (भोलि) उम्मेदवारी दर्ता गर्ने कार्यतालिका तय भइसकेको छ। यसबीचमा विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति र निवर्तमान सभापति देउवा पक्षका नेताहरूबीच संवाद प्रक्रिया अघि बढेको छ।

advertisement

देउवा पक्षका नेताहरूले निवर्तमान सभापतिसहित आफ्नो समूहका नेताहरूका लागि टिकट सुनिश्चित गर्नुपर्ने अडान राख्दै आएका छन्। तर संस्थापन पक्ष जित्न सक्ने उम्मेदवारलाई प्राथमिकता दिन तयार देखिए पनि देउवा स्वयंलाई टिकट दिने पक्षमा नरहेको बताइएको छ।

कांग्रेसका एक पदाधिकारीका अनुसार दुई पक्षबीच हिजोदेखि औपचारिक संवाद सुरु भएको छ। निवर्तमान सभापति पक्षले विशेष महाधिवेशनका बेला बनेको वार्ता समितिमा रहेका नेताहरूसँग संस्थापन पक्षले छलफल थालेको ती पदाधिकारीले जानकारी दिए।

संस्थापन पक्षका नेताहरूले भने समय अभावका कारण लामो छलफल सम्भव नभएको बताएका छन्। उनीहरूको भनाइ छ— जित्न सक्ने नेताहरूले टिकट पाउनेछन्, तर गुटगत भागबन्डाका आधारमा सिट बाँडफाँट स्वीकार्य छैन।

ती पदाधिकारीले स्पष्ट शब्दमा भने, ‘निवर्तमान सभापति देउवा अब अभिभावकीय भूमिकामा बस्नु उपयुक्त हुन्छ। उहाँलाई टिकट दिँदा पार्टीको रूपान्तरण र पुस्तान्तरणको सन्देश कमजोर हुन्छ, त्यसैले संस्थापन पक्ष उहाँलाई उम्मेदवार बनाउने पक्षमा छैन।’

संस्थापन पक्षले आगामी दिनमा गुटगत बैठकका आधारमा नभई तल्ला तहबाट आएका सिफारिसका आधारमा उम्मेदवार चयन गर्ने जनाएको छ। साथै अर्को निर्वाचनदेखि प्राइमरी प्रणाली लागू गर्ने तयारी रहेको पनि बताइएको छ।

पार्टी सभापति गगन थापाले आज बिहान भिडियो सन्देश जारी गर्दै उम्मेदवार चयन अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्। उनले समावेशी, सन्तुलित र न्यायपूर्ण ढंगले टिकट वितरण गरिने भन्दै सबै कार्यकर्तालाई आधिकारिक उम्मेदवारको पक्षमा एकताबद्ध भएर लाग्न आग्रह गरे।

यसैबीच, निर्वाचन आयोगले विशेष महाधिवेशन कार्यसमितिलाई मान्यता दिएपछि देउवा पक्षका नेताहरूले उक्त निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्। पार्टी विवाद अदालतमा विचाराधीन रहे पनि निर्वाचनको समयसीमा नजिकिँदै गएकाले दुवै पक्ष मिलेरै अघि बढ्ने गरी संवादमा रहेको बताइएको छ।

निवर्तमान प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले सामाजिक सञ्जालमार्फत आधा टिकटमा देउवा (समानुपातिक) र आधा टिकटमा गगन थापा (प्रत्यक्ष) ले हस्ताक्षर गर्ने व्यवस्था भएकाले सहमतिमै अघि बढ्नुपर्ने धारणा राखेका छन्।

यस्तै, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको चुनाव चिह्न ‘रूख’ नै आफ्नो पहिचान भएको भन्दै नयाँ पार्टी खोल्ने वा स्वतन्त्र उम्मेदवारी दिने कुनै योजना नरहेको स्पष्ट गरेका छन्।

प्रकाशित मिति: ५ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com