झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर–५ का नेताहरूलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिएका छन्। शुक्रबार क्षेत्रीय समन्वय कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीका सम्पूर्ण पंक्तिलाई जनताको घरघरमा पुगेर मतदातालाई एमालेलाई समर्थन गर्न प्रेरित गर्न भने।
अध्यक्ष ओलीले पार्टी नेतृत्वमा भएका विकास निर्माणका कामहरूलाई निर्वाचन जित्ने आधारको रूपमा प्रस्तुत गर्दै, केन्द्रीय, प्रदेश, जिल्ला र पालिका तहका पदाधिकारी तथा नेताहरूलाई योजनाबद्ध ढङ्गले प्रचारप्रसार गर्न निर्देशन दिएका छन्। उनीहरूले विपक्षीहरूले फैलाएका भ्रम र असत्य समाचार चिर्ने अभियानमा पनि पार्टीका सबै सदस्य सक्रिय रहनुपर्ने बताए।
ओलीले विगतका अवस्थाको सम्झना गराउँदै भने, “पहिलो पटक यस क्षेत्रमा चुनाव लड्दा धुलाम्मे सडक मात्र थिए, राजमार्गसम्म जानुपर्थ्यो। अहिले गाउँ–टोलसम्म पिच सडक पुगेको छ, यो हाम्रो नेतृत्वको उपलब्धि हो। जनताले यो कुरा बुझेका छन्, तर स्मरण गराउनु पनि आवश्यक छ।”
त्यसैगरी, अध्यक्ष ओलीले भदौ २३ र २४ का घटनाहरूको उल्लेख गर्दै देशलाई कमजोर बनाउन विरोधीहरू प्रयासरत रहेको दाबी गरे। उनले पार्टीका सबै सदस्यलाई आधारहीन आरोपहरूको प्रतिवाद गर्न र हरेक मतदातासँग सम्पर्क बढाउँदै निर्वाचन अभियानलाई तीव्र बनाउन निर्देशन दिएका छन्।
प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार













प्रतिक्रिया