काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस रूपान्तरण भएर निर्वाचनमा होमिएको बताएका छन्। निर्वाचित भएपछि पहिलोपटक पार्टी केन्द्रीय कार्यालय सानेपामा पदबहाली गर्दै सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेता–कार्यकर्तालाई चुनावी तयारीमा सक्रिय रूपमा लाग्न निर्देशन दिए।
सभापति थापाले यसपटक उम्मेदवार छनोट प्रक्रियामा केही सीमितता रहेको स्वीकार गर्दै आगामी दिनमा विधि सुधारिने स्पष्ट पारे। ‘अर्कोपटक कांग्रेसका उम्मेदवार यसरी चयन हुँदैनन्। जिल्लाकै साथीहरूले मत हालेर टुंग्याउनेछन्,’ उनले भने, ‘समयको चापका कारण चाहेजति समावेशी प्रक्रिया अपनाउन सकिएन। समय भएको भए अझ समावेशी बनाउन सक्थ्यौँ।’
उम्मेदवार छनोटमा कमजोरी भएको स्वीकार गर्दै उनले भने, ‘केही त्रुटि र अप्ठ्याराहरू छन्। सभापतिको हैसियतले ती कुरालाई बुझिदिनुहोला।’
थापाले संसदीय निर्वाचनअघि नै प्रधानमन्त्रीको उम्मेदवार तय गरेर चुनावमा जाने निर्णय आजको केन्द्रीय कार्यसमिति बैठकले सर्वसम्मत रूपमा पारित गरेको जानकारी पनि दिए। सोही बैठकले सभापति थापालाई नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै निर्वाचनमा जाने निर्णय गरेको हो।
कांग्रेस आफूहरूले नै बदलेको दाबी गर्दै उनले भने, ‘यो कांग्रेस आफैँ बदलिएको होइन, हामीले बदलेका हौँ। हामीले कांग्रेस बदल्यौँ, अब देश पनि बदल्छौँ भन्ने संकल्पसहित निर्वाचनमा होमिएका छौँ।’ उनले १६५ वटै निर्वाचन क्षेत्रमा रहेका करिब १० लाख क्रियाशील सदस्यलाई एकताबद्ध भएर लाग्न आह्वान गर्दै पार्टीभित्रका भिन्न मत र बहसहरूलाई अधिवेशनका सन्दर्भमा छलफल गर्ने बताए।
२०७९ को निर्वाचनको स्मरण गर्दै थापाले प्रतिकूल परिस्थितिमा पनि कांग्रेसले २७ लाख मत प्राप्त गरेको उल्लेख गरे। ‘त्यतिबेला धेरै ठाउँमा जाँदा कांग्रेस भएर रुखमै मतदान गर्ने व्यवस्था गर्नुस् भन्ने आग्रह थियो। त्यो व्यवस्था हामीले गरेका छौँ,’ उनले भने।
सभापति थापाले नेता–कार्यकर्तालाई आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित भएर काम गर्न निर्देशन दिए। ‘अर्काको निर्वाचन क्षेत्रमा गएर सहयोग हुँदैन,’ उनले भने, ‘निर्वाचनका बेला नेता–कार्यकर्ताका लागि आचारसंहिता बनाइनेछ र त्यसको पालना अनिवार्य हुनेछ। हामी फेयर प्ले, फेयर गेम चाहन्छौँ र अन्य दललाई पनि त्यसका लागि आह्वान गर्छौँ।’
प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार












प्रतिक्रिया