काठमाडौं। नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट मतदान गरेका छन् । आज बिहान सूर्यविनायक नगरपालिका–७ नम्बर वडा कार्यालयको गुण्डु मतदान केन्द्र पुगेर उनले मत हालेका हुन् ।

मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बस्नेतले बालेन शाह र रवि लामिछानेप्रति गम्भीर आरोप लगाएका छन् । उनले १४ हजार कैदी भगाउने विषयमा बालेन शाह र रवि लामिछानेको मुख्य हात रहेको दाबी गरे ।

advertisement

बस्नेतले भदौ २३ र २४ गते देशमाथि आक्रमण भएको जिकिर गर्दै लोकप्रिय नेताहरूलाई हराउन बालेन शाह झापा गएको आरोप लगाए । उनले भने, “१४ हजार कैदीहरू भगाउने कुरामा बालेन शाह र रवि लामिछानेको मुख्य हात छ । भदौ २३ र २४ गते देशमाथि आक्रमण भएको छ । पपुलर नेतालाई हराउन बालेन झापा गएका छन्, यो जनताले रुचाएका छैनन् । उनी जन्मेको वा हुर्केको ठाउँमा उम्मेदवार हुने कुरा स्वाभाविक थियो तर गलत ढंगले झापा पुगे । त्यो कुरा झापाली जनताले स्वीकार गर्दैनन् ।”

उनले झापाली जनताले बालेनको कदम स्वीकार नगर्ने दाबीसमेत गरे । बस्नेतले निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन मतदातालाई अपिल गर्दै आफ्नो मतदानको अनुभव सकारात्मक रहेको बताए ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान जारी छ । प्रारम्भिक जानकारीअनुसार देशभर मतदान केन्द्रहरूमा मतदाताको राम्रो उपस्थिति रहेको छ । सुरक्षा व्यवस्था कडा पारिएको छ र निर्वाचन शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको प्रहरी तथा निर्वाचन आयोगले जनाएको छ ।

बस्नेतको यो टिप्पणीले चुनावी माहोलमा थप बहस सिर्जना गरेको छ । झापा क्षेत्रमा बालेन शाहको उम्मेदवारीलाई लिएर स्थानीय स्तरमा विभिन्न प्रतिक्रिया आइरहेका छन् ।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com