काठमाडौं। निर्माणाधीन नयाँ संसद भवनमा प्रतिनिधिसभा बैठक कक्ष तत्काल तयार नहुने भएको छ । फागुन २१ मा सम्पन्न निर्वाचनबाट चुनिएका सांसदहरूको सपथ ग्रहण तथा प्रारम्भिक बैठकका लागि अस्थायी हल निर्माण तीव्र पारिएको छ ।
नयाँ भवनकै माथिल्लो तलामा रहेको बहुउद्देश्यीय हलमा प्रतिनिधिसभा बैठक कक्ष तयार पार्ने काम भइरहेको छ । उक्त हलमा माइक (कन्फ्रेन्सिङ) सिस्टम, सभामुखको आसन, सांसदहरूका सिट तथा अन्य आवश्यक व्यवस्था मिलाइँदै छ । प्रधानमन्त्रीको विश्वासको मत, राष्ट्रपतिको सम्बोधनलगायत सुरुवाती बैठकहरू यसै हलमा सञ्चालन हुने छन् ।
सहरी विकास मन्त्रालयको भवन निर्माण महाशाखाअन्तर्गत विशेष भवन निर्माण आयोजनाका रोशन श्रेष्ठले भने, ‘प्रतिनिधिसभाको बैठक कक्ष तयार हुन समय लाग्ने भयो । केही समयका लागि बहुउद्देश्यीय हलमा नै बैठक सञ्चालन गर्न सकिने गरी नयाँ हल तयार पारिरहेका छौं ।’
तर यो हलमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक सञ्चालन गर्न सिट अभाव हुने संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभामा २७५ र राष्ट्रिय सभामा ५९ सांसद छन् । संयुक्त बैठकका लागि कुल ३३४ सिट आवश्यक पर्छ ।
प्रतिनिधिसभाको बैठक कक्षमा अहिले फल्स सिलिङ अड्याउन फलामका डण्डीहरू राखिएका छन् । यसैकारण कार्पेट बिछ्याउन र सिट राख्न समस्या भएको श्रेष्ठले बताए । ‘फल्स सिलिङ माथिको फ्रेममा अड्याउनुपर्छ । संसद भवनमा दुर्घटना हुन दिनु पनि भएन,’ उनले भने, ‘प्राविधिक रूपमा चुनौतीपूर्ण छ, तर काम रोकिएको छैन । समय लाग्ने देखिएको छ ।’
सहरी विकास मन्त्रालयले नयाँ प्रतिनिधिसभाको बैठकका लागि समयतालिका बनाएर काम सुरु गरेको थियो । तर कम्तीमा असार मसान्तसम्म नयाँ भवनको काम सम्पन्न नहुने देखिएको छ । ‘निर्माण सम्पन्न गर्न केही समय लाग्ने भयो,’ श्रेष्ठले भने, ‘प्राविधिक विषय हो । तर छिट्टै सक्ने गरी काम गर्छौं ।’
नयाँ संसद भवन निर्माणमा ढिलाइ हुँदा निर्वाचित सांसदहरूको सपथ ग्रहण तथा प्रारम्भिक बैठक अस्थायी व्यवस्थामा सञ्चालन गर्नुपर्ने अवस्था आएको छ । संसद सचिवालयले यसका लागि आवश्यक सबै तयारी तीव्र पारिरहेको जनाएको छ ।
प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार













प्रतिक्रिया