काठमाडौं। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले २०८२ भदौ २४ गते आफ्नो निजी निवासमा भएको तोडफोड, आगजनी र लुटपाटलाई योजनाबद्ध षड्यन्त्रको रूपमा व्याख्या गरेका छन्।

जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगसमक्ष बयान दिँदै उनले उक्त घटनामा संलग्न जो–कोहीलाई पनि कानुनी कारबाही गर्नुपर्ने माग गरेका हुन्।

advertisement

आयोगलाई शेरबहादुर देउवाले दिएको बयानअनुसार देउवाले आफ्नो निवासमा भएको घटना तथा त्यससँग सम्बन्धित सामाजिक सञ्जालमा फैलिएका विवरणहरू भ्रामक रहेको दाबी गरेका छन्। उनले ती सामग्रीहरू कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर तयार पारिएको हुन सक्ने आशंका पनि व्यक्त गरेका छन्।

देउवाका अनुसार भदौ २३ गते उनी बुढानिलकण्ठस्थित निजी निवासमै रहेका थिए। सोही साँझ उनी बालुवाटार पुगेर तत्कालीन प्रधानमन्त्रीसँग सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध हटाउन आग्रह गरेका थिए।

भदौ २४ गते बिहान करिब १० बजे प्रदर्शनकारीहरू उनको निवास बाहिर भेला भई नाराबाजीमा उत्रिएका थिए। सुरक्षाकर्मीले रोक्ने प्रयास गर्दा झडपको स्थिति बनेको र आफूहरूमाथि हातपातसमेत भएको उनले बताएका छन्। केही युवाहरूको सहयोगमा राति करिब १० बजे मात्र आफू सुरक्षित स्थानमा पुग्न सफल भएको उनले उल्लेख गरेका छन्।

निवासबाट ठूलो परिमाणमा नगद फेला परेको भन्ने हल्लाबारे स्पष्ट पार्दै उनले मुचुल्कामा उल्लेख भएअनुसार त्यस्तो रकम ठूलो नभएको जिकिर गरे। साथै, घरसँग सम्बन्धित केही विवरणहरू षड्यन्त्रपूर्वक बनाइएका र सामाजिक सञ्जालमा फैलाइएका दाबी पनि उनले गरेका छन्। यद्यपि, यस विषयमा हालसम्म कुनै प्रहरी कार्यालयमा उजुरी नदिएको कुरा उनले स्वीकार गरेका छन्।

देउवाले आफ्नो निवासमा भएको लुटपाट र आगजनीबारे प्रहरीले विवरण संकलन गरे पनि कारबाही प्रक्रिया कहाँ पुग्यो भन्नेबारे आफू अनभिज्ञ रहेको बताए।

प्रहरी प्रशासनमा राजनीतिक हस्तक्षेप भएको आरोपलाई अस्वीकार गर्दै उनले आफूले कहिल्यै पक्षपातपूर्ण काम नगरेको दाबी गरे। भदौ २३ र २४ का घटनामा प्रहरीले सही मूल्याङ्कन गर्न नसकेको विषयलाई राजनीतिक हस्तक्षेपसँग जोड्न नहुने उनको भनाइ छ।

उनले लोकतन्त्रमा ट्रेड युनियन र विद्यार्थी संगठनहरूले आफ्ना हक–हितका लागि गतिविधि गर्न पाउने अधिकार रहेको उल्लेख गर्दै गैर–राजनीतिक संस्थाहरूमा अनावश्यक राजनीतिकरण नगर्न सुझाव दिए। साथै, युवाहरूको भावना समेट्दै नीतिगत तथा कानुनी सुधार आवश्यक रहेकोमा उनले जोड दिएका छन्।

प्रकाशित मिति: ११ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com