सिरहा । सिरहा नगरपालिकाका मेयर डा. नवीनकुमार यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार नगरपालिकामा कार्यरत एक कार्यालय सहयोगीमाथि कुटपिट गरेको आरोपमा उनीविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको हो। प्रहरी उपरीक्षक बासुदेव पाठकले घटनासम्बन्धी अनुसन्धानका क्रममा जिल्ला प्रशासन कार्यालयबाट पक्राउ अनुमति लिइएको जानकारी दिए।
प्रहरीका अनुसार गत सोमबार हाजिरी गर्ने क्रममा मेयर यादवले ५० वर्षीय कार्यालय सहयोगी रामशरण यादवमाथि गालीगलौज गर्दै लात–मुक्काले आक्रमण गरेका थिए। उक्त घटनामा पीडितको शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ। प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको छ।
उक्त घटनामा अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। पक्राउ पुर्जी जारी भएसँगै मेयर यादव सम्पर्कविहीन भएका छन् र उनको खोजी कार्य तीव्र रूपमा अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार












प्रतिक्रिया