काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको महत्वपूर्ण बैठक पार्टी मुख्यालय सानेपामा सुरु भएको छ। बैठकमा पार्टीभित्र समानान्तर गतिविधि सञ्चालन गरेको आरोपमा नेता पूर्णबहादुर खड्का विरुद्धको विषयमा केन्द्रित छलफल भइरहेको छ।
निवर्तमान सभापति शेरबहादुर देउवा पक्षसँग निकट मानिएका खड्काले पार्टीको आधिकारिक निर्णयविपरीत गतिविधि गरेको भन्दै उनलाई अनुशासन उल्लंघनको आरोपमा स्पष्टीकरण सोध्ने तयारी गरिएको स्रोतले जनाएको छ। यसअघि नै अनुशासन समितिले अनधिकृत रूपमा वक्तव्य जारी नगर्न उनलाई सचेत गराइसकेको थियो।
गत सोमबार खड्काले आफूलाई कार्यवाहक सभापति दाबी गर्दै विज्ञप्ति जारी गरी पार्टीले गरेको क्रियाशील सदस्यता खारेजीको निर्णयप्रति असहमति जनाएका थिए। सोही घटनापछि अनुशासन समितिले आकस्मिक बैठक बोलाएको हो।
यसअघि चैत १८ गते बसेको समितिको बैठकले खड्काले पुनः कार्यवाहक सभापतिको हैसियत प्रयोग गरे कडा कारबाही अघि बढाउने चेतावनी दिइसकेको थियो।
खड्कामाथि पछिल्लो समय निरन्तर रूपमा पदीय मर्यादाविपरीत गतिविधि गरेको आरोप लाग्दै आएको छ। उनले चैत १४ गते पनि कार्यवाहक सभापतिको रूपमा विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक को पक्राउप्रति विरोध जनाएका थिए।
त्यसपछि चैत १७ गते उनले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठकसमेत छुट्टै रूपमा बोलाई दुई दिनसम्म समानान्तर छलफल सञ्चालन गरेका थिए।
प्रकाशित मिति: २ बैशाख २०८३, बुधबार













प्रतिक्रिया