काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय तथा स्वास्थ्यसम्बन्धी शैक्षिक संस्थाहरूमा सक्रिय दलीय विद्यार्थी र कर्मचारी संगठनका संरचना हटाउने निर्णयलाई अनिवार्य रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा देशभरका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग करिब साढे तीन घण्टा भएको छलफलका क्रममा उनले शैक्षिक संस्थाहरूलाई राजनीति मुक्त बनाउनुपर्ने स्पष्ट अडान व्यक्त गरे। उनले कुनै पनि बहानामा विश्वविद्यालयभित्र दलगत गतिविधि हुन नदिन निर्देशन दिँदै संगठनका संरचना हटाउने कार्यलाई प्राथमिकताका साथ अघि बढाउन आग्रह गरे।

advertisement

छलफलका क्रममा उपकुलपतिहरूले पछिल्लो समय जेनजी आन्दोलनको प्रभाव र निर्वाचनपछिको अवस्थाबारे जानकारी दिँदै विद्यार्थीहरूमा राजनीतिक गतिविधि केही सुस्त भएको र यस्ता संरचना हटाउने प्रयास सुरु भइसकेको बताएका थिए।

त्यसैगरी, उनीहरूले विश्वविद्यालय सञ्चालनमा देखिएका चुनौतीहरू—जग्गा व्यवस्थापन, जनशक्ति अभाव तथा स्रोत–साधनको कमी—समाधानका लागि सरकारको सहयोग आवश्यक रहेको धारणा राखे।

प्रधानमन्त्री शाहले ती समस्याहरू समाधान गर्ने दिशामा सरकारले आवश्यक पहल थालिसकेको जानकारी दिँदै शैक्षिक सुधारलाई प्रभावकारी रूपमा अघि बढाइने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति: ७ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com