काठमाडौं । विष्णुमती नदी किनारमा रहेका अनधिकृत संरचना हटाउने क्रममा रोकिएको डोजर अभियान नयाँ बसपार्क नजिकै पुनः सञ्चालनमा आएको छ।
स्थानीय करिब १०–१२ घरधुरीले आफ्ना घर लालपूर्जासहित वैधानिक जग्गामा बनेको दाबी गरेपछि केही समयका लागि डोजर रोकिएको थियो। त्यसपछि वास्तविकता पत्ता लगाउन सरकारी टोली खटाइएको थियो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार, छानबिनका क्रममा ती संरचनाहरू नदी किनारको मापदण्डविपरीत निर्माण गरिएको निष्कर्ष निकालिएको छ।
उनले भने, ‘नदीको किनारबाटै जग उचालेर घर निर्माण गरिएको पाइयो, त्यसैले अहिले पुनः डोजर चलाएर संरचना हटाउने काम अघि बढाइएको छ।’
सीडीओ पौडेलका अनुसार, सम्बन्धित क्षेत्रमा बनेका घरहरू निर्धारित मापदण्डअनुसार नभएको पुष्टि भएको छ। यद्यपि, थप अध्ययनपछि यदि घरधनीको स्वामित्व नदी किनार बाहिरसम्म फैलिएको प्रमाणित भएमा सो जग्गा फिर्ता गरिनेछ।
स्थानीयले आफूहरूसँग वैधानिक लालपूर्जा रहेको भन्दै घर भत्काउन नदिने अडान लिएपछि सरकारले आठ सदस्यीय टोली गठन गरी स्थलगत अध्ययन गरेको थियो। सोही टोलीको प्रतिवेदनपछि डोजर अभियान पुनः सुरु गरिएको प्रशासनले जनाएको छ।
प्रकाशित मिति: १९ बैशाख २०८३, शनिबार













प्रतिक्रिया