काठमाडौं । धादिङको गल्छी गाउँपालिका–६ बैरेनीस्थित पृथ्वी राजमार्गमा गएराति तीन सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना यात्रु घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार राति करिब ११:३० बजे काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बसले सडकमा रोकिएको ट्रकलाई पछाडिबाट ठक्कर दिएको थियो। त्यसलगत्तै काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको अर्को बसले पनि उक्त बसलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय गजुरी, प्रहरी चौकी बैरेनी तथा स्थानीयको सहयोगमा घाइते ३७ जनाको तत्काल उद्धार गरिएको थियो। घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको थियो।
प्रहरीका अनुसार ३ जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन् भने बाँकी ३४ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ। तीमध्ये अधिकांशको राष्ट्रिय ट्रमा सेन्टर र टिचिङ अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न तीनवटै सवारी साधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया