काठमाडौं । संविधान संशोधनको विषयमा छलफल गर्न प्रधानमन्त्री कार्यालयले बोलाएको बैठकमा जेन–जी अगुवाहरू नजाने निर्णय गरेका छन्।
जेन–जी अगुवा उपार्जुन चाम्लिङ का अनुसार संविधान संशोधनको मस्यौदा तयार गर्न गठित कार्यदलले शुक्रबार सिंहदरबार मा छलफलका लागि बोलाएको थियो। कार्यदलले दुई छुट्टाछुट्टै पत्रमार्फत २९ जना प्रतिनिधिलाई आमन्त्रण गरेको थियो।
तर, छलफलको स्पष्ट विषयवस्तु नखुलाइ केवल ‘कर्मकाण्ड’का लागि मात्र बोलाइएको भन्दै बिहीबार रातिसम्मको आन्तरिक छलफलपछि जेन–जी अगुवाहरूले उक्त बैठकमा सहभागी नहुने निर्णय गरेका हुन्।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह को नेतृत्वमा गठित कार्यदलले शुक्रबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म सिंहदरबारस्थित सगरमाथा हलमा छलफल कार्यक्रम तय गरेको छ। यसअघि कार्यदलले विभिन्न दलका प्रतिनिधि, संविधानविद् तथा पत्रकारसँग सुझाव लिइसकेको छ। अन्तिम चरणमा जेन–जी अगुवासँग सुझाव माग गरिए पनि उनीहरूले बैठक बहिष्कार गर्ने निर्णय गरेका छन्।
प्रकाशित मिति: १ जेष्ठ २०८३, शुक्रबार













प्रतिक्रिया