काठमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडामा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु रोग पुष्टि भएको छ ।
नगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै यो संक्रमण देखिएपछि उच्च सतर्कता अपनाउन स्थानीयवासी, पन्छीपालक तथा सर्वसाधारणलाई अपिल गरेको छ ।
नगरपालिकाका अनुसार वडा नम्बर २, ३ र ४ मा बर्ड फ्लु देखिएको छ ।
संक्रमण नियन्त्रणका लागि ती क्षेत्रका पन्छी, अण्डा, दाना तथा अन्य आहारा सामग्रीलाई सुरक्षित तरिकाले नष्ट गरी खाल्डोमा गाड्ने र सो क्षेत्रलाई पूर्ण रूपमा निसंक्रमण गर्ने काम भइरहेको छ ।
हाँस, कुखुरा, बट्टाई, लौकाट लगायतका पन्छीहरू प्रभावित भएको पाइएको छ ।
रोगलाई थप फैलिन नदिन नगरपालिकाले कडा कदम चालेको छ ।
पन्छी फार्महरूमा अनावश्यक व्यक्ति र सवारी साधनको प्रवेश पूर्ण रूपमा रोक लगाइएको छ ।
अनिवार्य अवस्थामा प्रवेश गर्नुपरेमा निसंक्रमण गर्नुपर्ने व्यवस्था गरिएको छ ।
एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा जान नहुने, प्रयोग भएको अण्डा क्रेट पुनः प्रयोग गर्न नपाइने र फार्मको ढोकामा अनिवार्य रूपमा चुना वा निसंक्रामक औषधि राखिएको फुटपाथ मात्र प्रयोग गर्न निर्देशन दिइएको छ ।
कृषकहरूलाई खोरभित्र जाँदा छुट्टै बुट र एप्रोन प्रयोग गर्न, दैनिक रूपमा खोर निसंक्रमण गर्न र पन्छी फार्म परिसरमा कुकुर, बिरालो, मुसा जस्ता जनावरको प्रवेश रोक्न आग्रह गरिएको छ ।
अचानक मरेका पन्छीहरूलाई लुकाएर नराखी तुरुन्तै नजिकको पशु सेवा शाखा वा स्थानीय तहमा खबर गर्न समेत आह्वान गरिएको छ ।
पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिनुपर्ने व्यवस्थालाई कडाइका साथ लागू गरिएको छ ।
सर्वसाधारणलाई मासु तथा अण्डाजन्य पदार्थ राम्ररी पकाएर मात्र खान नगरपालिकाले सूचित गरेको छ ।
नगरपालिकाले संक्रमण नियन्त्रणका लागि सबै पक्षबाट सहयोगको अपेक्षा गरेको छ ।
प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलबार













प्रतिक्रिया