काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले मेडिकल शिक्षालाई सर्वसुलभ र पहुँचयोग्य बनाउने उद्देश्यसहित नगरवासी विद्यार्थीका लागि ५० प्रतिशत छात्रवृत्ति दिने ऐतिहासिक निर्णय सार्वजनिक गरेको छ।

नगरपालिकाका मेयर दीपक रिसालको नेतृत्वमा अघि बढाइएको यस कार्यक्रमअन्तर्गत काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्समा अध्ययन गर्ने योग्य विद्यार्थीले मेडिकल शिक्षाका पाँच प्रमुख कार्यक्रमहरूमा आधा शुल्क छुट पाउनेछन्।

नगरपालिकाले सार्वजनिक गरेको जानकारीअनुसार छात्रवृत्ति एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीएससी मेडिकल इमेजिङ टेक्नोलोजी तथा बीएससी ल्याबोरेटरी मेडिसिन कार्यक्रममा लागू हुनेछ। मेडिकल शिक्षाको बढ्दो लागतका कारण अध्ययनबाट वञ्चित हुन सक्ने प्रतिभाशाली विद्यार्थीलाई उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले यो योजना ल्याइएको नगरपालिकाले जनाएको छ।

काठमाडौं विश्वविद्यालयमा हाल लागू रहेको शुल्कअनुसार एमबीबीएसको कुल शुल्क करिब ४१ लाख ६८ हजार रुपैयाँ रहेको छ। ५० प्रतिशत छात्रवृत्तिपछि विद्यार्थीले करिब आधा रकममै अध्ययन गर्न सक्नेछन्। त्यस्तै बीडीएसको शुल्क २० लाख ९२ हजार २९० रुपैयाँ, बीएससी नर्सिङ १० लाख ३६ हजार रुपैयाँ तथा बीएससी एमआईटी र बीएससी ल्याब मेडको शुल्क ७ लाख ७७ हजार रुपैयाँ रहेको छ। यस योजनाबाट प्रत्येक विद्यार्थीले लाखौं रुपैयाँ बराबरको आर्थिक राहत पाउनेछन्।

गोकर्णेश्वर नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै पछिल्ला वर्षहरूमा विभिन्न नविन कार्यक्रम सञ्चालन गर्दै आएको छ। मेयर रिसालले विशेषगरी स्थानीय युवालाई गुणस्तरीय शिक्षा र रोजगारीसँग जोड्ने नीति अवलम्बन गर्दै छात्रवृत्ति, सीप विकास तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिएका छन्। मेडिकल शिक्षामा ५० प्रतिशत छात्रवृत्तिको यो निर्णय पनि सोही दीर्घकालीन सोचको निरन्तरता मानिएको छ।

शिक्षाविद्हरूका अनुसार नेपालमा मेडिकल शिक्षा अत्यन्त महँगो बन्दै गएको अवस्थामा स्थानीय सरकारले आफ्नै स्रोतबाट यस्तो ठूलो छात्रवृत्ति कार्यक्रम ल्याउनु दुर्लभ र उदाहरणीय कदम हो। यसले आर्थिक अवस्था कमजोर भएका तर अध्ययनमा उत्कृष्ट विद्यार्थीलाई चिकित्सक, दन्त चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मी बन्ने सपना पूरा गर्न महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।

नगरपालिकाले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको छनोट प्रक्रिया, आवेदनको समयसीमा, योग्यता तथा आवश्यक कागजातसम्बन्धी विस्तृत सूचना छिट्टै सार्वजनिक गर्ने जनाएको छ।

स्थानीय सरकारको लगानी शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा केन्द्रित हुन थालेसँगै गोकर्णेश्वर नगरपालिकाको यो निर्णयलाई सामाजिक उत्तरदायित्व, मानव पूँजी विकास र स्वास्थ्य क्षेत्रमा दीर्घकालीन लगानीका रूपमा समेत हेरिएको छ। यदि प्रभावकारी कार्यान्वयन हुन सके, यो कार्यक्रम अन्य स्थानीय तहका लागि पनि अनुकरणीय नमूना बन्न सक्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २० असार २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com