काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई परम्परागत भूराजनीतिक बहसबाट बाहिर निकालेर विकास, लगानी र आर्थिक सहकार्यमा केन्द्रित गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
भारतको प्रतिष्ठित दैनिक हिन्दुस्तान टाइम्समा प्रकाशित ‘आकांक्षी नेपाल र उदीयमान भारतले सम्बन्धलाई कसरी पुनः जोड्न सक्छन् ?’ शीर्षकको लेखमार्फत् लामिछानेले दुई देशबीचको सम्बन्धको नयाँ शब्दावली निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउँदै विकास कूटनीतिमा आधारित आठ महत्त्वपूर्ण प्रस्ताव अघि सारेका हुन्।
उनले नेपाल–भारत सम्बन्धलाई राजनीतिक र रणनीतिक चासोको घेराभन्दा बाहिर निकालेर व्यापार, ऊर्जा, पर्यटन, पूर्वाधार र लगानी साझेदारीमा केन्द्रित गर्नुपर्ने बताएका छन्। कूटनीतिक नियोगहरूलाई केवल राजनीतिक सम्पर्क केन्द्रका रूपमा होइन, आर्थिक सहकार्य र लगानी प्रवर्द्धनका प्रभावकारी संयन्त्रका रूपमा रूपान्तरण गर्नुपर्ने उनको सुझाव छ।
पाँचदिने भारत भ्रमणका क्रममा नयाँदिल्ली पुगेका लामिछानेले भारतीय जनता पार्टी (भाजपा)का नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ। भेटमा लोकतान्त्रिक अभ्यास, राजनीतिक अनुभव आदान–प्रदान तथा दुई देशबीचको सम्बन्ध सुदृढीकरणका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
रविले अघि सारेका आठ प्रमुख प्रस्ताव
१. सीमा विवाद संवादमार्फत समाधान
लामिछानेले नेपाल–भारत सम्बन्धको आधार पारस्परिक विश्वास हुनुपर्ने बताउँदै सीमा लगायतका विवादलाई दीर्घकालसम्म थाती राख्न नहुने उल्लेख गरेका छन्। अतिराष्ट्रवादी भाषणभन्दा ऐतिहासिक तथ्य र आपसी समझदारीका आधारमा संवादमार्फत समाधान खोज्नुपर्ने उनको धारणा छ।
२. रक्सौल–काठमाडौं रेल परियोजनालाई प्राथमिकता
उनले प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्गलाई दुई देशबीचको सबैभन्दा महत्वपूर्ण आर्थिक परियोजनाका रूपमा चित्रण गरेका छन्। उक्त रेलमार्ग सञ्चालनमा आए व्यापार, पर्यटन, ढुवानी तथा क्षेत्रीय सम्पर्कमा गुणात्मक परिवर्तन आउने उनको विश्वास छ।
३. पोखरा र लुम्बिनीबाट भारतका प्रमुख शहरमा सिधा उडान
हवाई सम्पर्क विस्तारका लागि पोखरा र लुम्बिनीबाट दिल्ली, मुम्बई र बेङ्गलुरुजस्ता भारतीय शहरमा प्रत्यक्ष उडान सुरु गर्नुपर्ने आवश्यकता उनले औंल्याएका छन्।
४. ‘काठमाडौं–बेङ्गलुरु डिजिटल करिडोर’
सूचना प्रविधि क्षेत्रमा सहकार्य विस्तार गर्दै नेपाल र भारतका डिजिटल उद्यमीलाई जोड्ने उद्देश्यसहित ‘काठमाडौं–बेङ्गलुरु डिजिटल करिडोर’को अवधारणा अघि सारिएको छ। डिजिटल भुक्तानी, फिनटेक र सीमापार डिजिटल प्लेटफर्ममार्फत आर्थिक अवसर विस्तार गर्न सकिने उनको भनाइ छ।
५. नेपालमा आईआईटी र एम्सजस्ता संस्था स्थापना
भारतीय विश्वविद्यालय, प्रविधि कम्पनी र स्टार्टअपलाई नेपालमा नवप्रवर्तन केन्द्र, प्रविधि हब र इन्क्युबेसन सेन्टर स्थापना गर्न आह्वान गर्दै उनले आईआईटी र एम्सजस्ता विश्वसनीय शैक्षिक तथा स्वास्थ्य संस्थाहरू नेपालमा विस्तार गर्न सकिने बताएका छन्।
६. सीमाक्षेत्रमा रासायनिक मल उद्योग
भारतको गुजरात राज्यको औद्योगिक विकासबाट प्रेरणा लिँदै उनले नेपाल–भारत सीमाक्षेत्रमा संयुक्त रूपमा रासायनिक मल उद्योग स्थापना गर्न प्रस्ताव गरेका छन्। यसले कृषि उत्पादन, आपूर्ति प्रणाली र आर्थिक विकासलाई थप मजबुत बनाउने उनको विश्वास छ।
७. ऊर्जा बजारको एकीकरण
नेपालको जलविद्युत् सम्भावनालाई भारतका औद्योगिक क्षेत्रसँग जोड्नुपर्ने बताउँदै उनले एकीकृत ऊर्जा बजार निर्माणमा जोड दिएका छन्। साथै आधुनिक एकीकृत जाँच चौकी (आईसीपी), सहज ट्रान्जिट व्यवस्था र व्यापारिक अवरोध न्यूनीकरणको आवश्यकता पनि औंल्याएका छन्।
८. आईपीएलमा नेपाली सहभागिता विस्तार
खेलकुदलाई समेत नेपाल–भारत सहकार्यको महत्वपूर्ण क्षेत्रका रूपमा प्रस्तुत गर्दै लामिछानेले भविष्यमा नेपाली खेलाडी मात्र होइन, नेपाली रंगशालासमेत आईपीएलको फ्रेन्चाइज संरचनासँग जोडिन सक्ने सम्भावनाबारे सोच्नुपर्ने बताएका छन्।
लेखमा उनले नेपालमा आएको राजनीतिक परिवर्तनलाई ‘ब्यालट बक्स क्रान्ति’को संज्ञा दिएका छन्। रास्वपाको उदयलाई पुरानो राजनीतिक संरचनामाथिको चुनौतीका रूपमा व्याख्या गर्दै नयाँ पुस्ताले विकास, सुशासन र प्रत्यक्ष जवाफदेहितामा आधारित राजनीतिक विकल्प खोजिरहेको दाबी पनि गरेका छन्।
प्रकाशित मिति: १९ जेष्ठ २०८३, मंगलबार













प्रतिक्रिया