काठमाडौं । प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले न्यायपालिकाको संस्थागत सुदृढीकरण, विश्वसनीयता अभिवृद्धि तथा न्याय सम्पादन प्रणालीलाई थप प्रभावकारी बनाउने दिशामा आफू प्रतिबद्ध रहेको बताएका छन्।
सर्वोच्च अदालत बार एसोसिएसनले बुधबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै प्रधान न्यायाधीश शर्माले विगतका प्रधान न्यायाधीशहरूले स्थापित गरेका सकारात्मक अभ्यासलाई निरन्तरता दिँदै न्यायपालिकालाई अझ सबल, सक्षम र जनमुखी बनाउने लक्ष्यसहित काम गर्ने बताए।
उनले अदालतमार्फत हुने विवाद समाधानलाई पहिलो होइन, अन्तिम विकल्पका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै वैकल्पिक विवाद समाधान प्रणालीलाई प्रभावकारी बनाउन कानुन व्यवसायीहरूको सक्रिय भूमिका आवश्यक रहेको धारणा व्यक्त गरे।
प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले संविधानको सर्वोच्चता, विधिको शासन, न्यायपालिकाको स्वतन्त्रता, न्यायिक निष्पक्षता तथा संस्थागत सुशासनप्रति आफू सधैँ प्रतिबद्ध रहने स्पष्ट पारे। उनले न्याय प्रशासनलाई संविधानको मर्मअनुसार छिटो, छरितो, सर्वसुलभ, मितव्ययी, निष्पक्ष र प्रभावकारी बनाउन सके मात्र न्यायालयप्रति नागरिकको विश्वास अझ बलियो बन्ने बताए।
उनका अनुसार न्यायिक सुधारको नेतृत्व प्रधान न्यायाधीशले गर्ने भए पनि त्यसको सफल कार्यान्वयन न्यायाधीश, कर्मचारी र सरोकारवालाबीचको समन्वय तथा सहकार्यमा निर्भर रहनेछ।
न्यायपालिकाको दीर्घकालीन सुधार, संस्थागत सुदृढीकरण र सेवाग्राहीमैत्री न्याय प्रणाली निर्माणका लागि सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको उनले जोड दिए।
प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया