काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भाषा, साहित्य र संस्कृतिलाई नेपाली समाजको मौलिक पहिचान तथा राष्ट्रिय गौरवको आधारस्तम्भका रूपमा व्याख्या गरेका छन्। उनले साहित्य केवल भावना अभिव्यक्त गर्ने माध्यम मात्र नभई समाजलाई सचेत, संवेदनशील र जिम्मेवार बनाउने शक्तिशाली साधन भएको बताएका छन्।
युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्तीका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले साहित्यले लोकतान्त्रिक मूल्य, सामाजिक रूपान्तरण, देशभक्ति र न्यायप्रतिको चेतनालाई बलियो बनाउँदै सभ्य समाज निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
उनले साहित्यको शक्ति समाजलाई एकताबद्ध गर्ने, जनचेतना अभिवृद्धि गर्ने तथा उज्यालो भविष्यतर्फ डोर्याउने क्षमतामा निहित रहेको उल्लेख गरे।
राष्ट्रपति पौडेलले नेपाली भाषा, साहित्य, राष्ट्रिय भावना र जनचेतनाको विकासमा युगकवि सिद्धिचरण श्रेष्ठले पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै नयाँ पुस्ताले उनलाई केवल इतिहासका कविका रूपमा नभई चेतना, साहस, सृजनशीलता, राष्ट्रप्रेम र मानवीय मूल्यका प्रेरणास्रोतका रूपमा बुझ्नुपर्ने धारणा व्यक्त गरे।
उनका अनुसार सिद्धिचरण श्रेष्ठले आफ्नो समयको सामाजिक चेतना, जनभावना र परिवर्तनप्रतिको आकांक्षालाई साहित्यमार्फत सशक्त रूपमा अभिव्यक्त गरेका थिए। नेपाली साहित्यको समृद्धिमा उनको योगदान अविस्मरणीय रहेको राष्ट्रपति पौडेलले बताए।
राष्ट्रपति पौडेलले तत्कालीन कठिन राजनीतिक र सामाजिक परिस्थितिका बीच पनि युगकविले स्वतन्त्रता, न्याय, मानवता, राष्ट्रिय स्वाभिमान र जनजागरणका पक्षमा निर्भीक आवाज उठाएको स्मरण गरे। विचार र अभिव्यक्तिको स्वतन्त्रताप्रति उनको अडानकै कारण उनले लामो कारावास जीवन व्यतीत गर्नुपरेको प्रसङ्ग उल्लेख गर्दै राष्ट्रपति पौडेलले त्यसबाट उनको संघर्ष, त्याग र साहित्यप्रतिको समर्पण झल्किने बताए।
उनले सिद्धिचरणका कृतिहरूमा जन्मभूमिप्रतिको गहिरो प्रेम, राष्ट्रप्रतिको निष्ठा र नेपाली जनजीवनप्रतिको संवेदनशीलता प्रस्ट देखिने उल्लेख गर्दै विशेषगरी ‘मेरो प्यारो ओखलढुङ्गा’ कविताले मातृभूमिप्रतिको प्रेमलाई नेपाली साहित्यमा अमर बनाएको बताए।
कार्यक्रमका अवसरमा साहित्य र अनुसन्धान क्षेत्रमा योगदान पुर्याएबापत डा. दुबसु क्षेत्री तथा डा. गार्गी शर्मालाई ‘युगकवि सिद्धिचरण पुरस्कार’ प्रदान गरिएको थियो।
प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार













प्रतिक्रिया