काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली जनताले आज स्वतन्त्र राष्ट्रका नागरिकका रूपमा शिर उँचो पारेर उभिन सक्नुमा वीर पुर्खाले गरेको त्याग, बलिदान, साहस र योगदानको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।
राष्ट्रिय विभूति भीमसेन थापाको २२५औँ जन्मजयन्तीका अवसरमा शुक्रबार आयोजित पुरस्कार तथा सम्मान समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले इतिहासका सकारात्मक पक्षबाट प्रेरणा लिएर वर्तमानलाई सही दिशामा अघि बढाउनुपर्नेमा जोड दिए।
उनले इतिहासका असल पक्षको अनुशरण गर्न सके मात्र वर्तमानप्रति न्याय गर्न सकिने र त्यसबाटै उज्ज्वल भविष्य निर्माणको आधार तय हुने बताए।
‘हामीले इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सक्छौँ। यसले नै भविष्य निर्माणको सुनौलो बाटो तय गर्छ भन्ने मेरो विश्वास छ,’ राष्ट्रपति पौडेलले भने।
राष्ट्रपति पौडेलले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको रक्षाका लागि वीर पुर्खाले गरेको त्याग र बलिदानको सम्मान गर्नुपर्ने बताए। आपसी भाइचारा, मित्रता, सहिष्णुता र एकताको भावनालाई बलियो बनाउँदै राष्ट्रिय एकता सुदृढ गर्नुपर्नेमा उनले जोड दिए।
राष्ट्रप्रेमप्रतिको प्रतिबद्धतालाई कुनै पनि अवस्थामा कमजोर हुन दिन नहुने उल्लेख गर्दै राष्ट्रपति पौडेलले राष्ट्रिय एकताको बलमा मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउनुपर्ने बताए।
उनले भ्रष्टाचार, विकृति र विसंगतिको अन्त्य गर्दै सुशासन कायम गरी विकास निर्माणलाई तीव्रता दिन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।
‘हामी सबै मिलेर भ्रष्टाचार, विकृति र विसंगति अन्त्य गर्दै सुशासनमार्फत देश विकासको कामलाई तीव्र बनाउन जुटौँ। यही नै राष्ट्रिय विभूति भीमसेन थापासहित हाम्रा वीर पुर्खाप्रतिको सच्चा सम्मान हुनेछ,’ उनले भने।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति भीमसेन थापाको बहुआयामिक व्यक्तित्वको चर्चा गर्दै उनी राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको रक्षाका सवालमा कहिल्यै नझुकेको बताए। देशभक्ति नै भीमसेन थापाको जीवनको मूल मन्त्र रहेको उनको भनाइ थियो।
अंग्रेजसँगको युद्धमा नेपालले ठूलो क्षति व्यहोर्नुपरे पनि भीमसेन थापाको राष्ट्रभक्तिपूर्ण अडान र योगदानका कारण नेपाल आफ्नो स्वतन्त्र अस्तित्व जोगाउन सफल भएको राष्ट्रपति पौडेलले स्मरण गरे।
उनले भीमसेन थापालगायत वीर पुर्खाको योगदानबाट प्रेरणा लिँदै राष्ट्रिय एकता, सुशासन र समृद्धिको बाटोमा अघि बढ्नु आजको आवश्यकता भएको बताए।
प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया