काठमाडौं। रूसका राष्ट्रपति भ्लादिमिर पुटिन ले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सँग प्रत्यक्ष भेटवार्ता गरेर युद्ध अन्त्य बारे छलफल गर्ने प्रस्ताव अस्वीकार गरेका छन्।
युद्ध अन्त्यका लागि जेलेन्स्कीले हालै प्रत्यक्ष संवाद र तत्काल युद्धविरामको प्रस्ताव अघि सारेका थिए। तर पुटिनले वर्तमान परिस्थितिमा त्यस्तो भेटवार्ताको कुनै औचित्य नरहेको बताएका छन्।
रूसी पक्षका अनुसार दीर्घकालीन समाधानका लागि पहिले प्राविधिक तथा कूटनीतिक तहमा आवश्यक सहमति निर्माण हुनुपर्ने आवश्यकता छ।
त्यसपछि मात्रै उच्चस्तरीय राजनीतिक भेटघाट सम्भव हुने उनीहरूको भनाइ छ।
पुटिनले जेलेन्स्कीको प्रस्तावलाई वार्ताको वातावरण निर्माण गर्नेभन्दा पनि विवाद बढाउने खालको भएको टिप्पणी गरेका छन्।
उनले स्थायी शान्ति सुनिश्चित गर्ने आधार तयार नगरी युद्धविराम मात्र पर्याप्त नहुने धारणा राखेका छन्।
यता जेलेन्स्कीले भने रूसले फेरि एकपटक शान्ति पहल अस्वीकार गरेको आरोप लगाएका छन्। उनले अन्तर्राष्ट्रिय समुदायले युद्ध रोक्न थप दबाब दिनुपर्ने आवश्यकता औँल्याएका छन्।
रूसले लामो समयदेखि युक्रेनसँग केही क्षेत्रीय तथा सुरक्षा सम्बन्धी माग राख्दै आएको छ।
विशेषगरी पूर्वी तथा दक्षिणी युक्रेनका केही क्षेत्रको विषय र नाटो सदस्यतासम्बन्धी मुद्दा दुवै पक्षबीचको मुख्य विवादका रूपमा रहेका छन्।
युक्रेनले भने आफ्नो भूभाग र सार्वभौमिकतामा कुनै सम्झौता नगर्ने अडान दोहोर्याउँदै आएको छ।
यसैबीच, युद्ध जारी रहँदा पछिल्ला आक्रमणहरूमा सर्वसाधारणको ज्यान जाने क्रम रोकिएको छैन।
अन्तर्राष्ट्रिय समुदायले सम्भावित वार्तालाई सकारात्मक रूपमा हेरे पनि दुवै पक्षबीचको दूरी कायमै रहेकाले तत्काल शान्ति सम्झौताको सम्भावना कमजोर देखिएको विश्लेषण गरिएको छ।
प्रकाशित मिति: २३ जेष्ठ २०८३, शनिबार













प्रतिक्रिया