काठमाडौं । नेकपा (एमाले)की सांसद साजिदा खातुन सिद्धिकीले प्रधानमन्त्रीलाई प्रतिनिधिसभामा उपस्थित भई देश र जनतासँग सम्बन्धित विषयमा स्पष्ट जवाफ दिन आग्रह गरेकी छन्। उनले सरकार संसद्प्रति थप जवाफदेही र उत्तरदायी हुनुपर्नेमा पनि जोड दिइन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सिद्धिकीले प्रतिनिधिसभा नियमावली, २०८३ ले प्रत्येक सांसदलाई प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्ने अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै उक्त व्यवस्थाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताइन्।

प्रधानमन्त्रीलाई लक्षित गर्दै उनले संसद्को गरिमा कायम राख्न र जनताका जिज्ञासाको उत्तर दिन संसद्मा नियमित उपस्थित हुनुपर्ने धारणा राखिन्।

उनले भनिन्, ‘प्रधानमन्त्री सडकको होइन, देश र नेपाली जनताको प्रधानमन्त्री हो। उहाँ संसदमा आएर देशको गरिमा र जनताको सम्मानसँग जोडिएका विषयमा स्पष्ट धारणा राख्नुपर्छ। देश र जनताको पक्षमा गम्भीर बन्नुस्, प्रधानमन्त्रीज्यू।’

सांसद सिद्धिकीले संसद्को भूमिका सरकारको आलोचना गर्नु मात्र नभई सरकारलाई सही दिशामा अघि बढाउन र सफल बनाउन पनि रहेको उल्लेख गर्दै सरकारको संसद्प्रतिको उत्तरदायित्व अपेक्षाअनुसार देखिन नसकेको टिप्पणी गरिन्।

उनले वर्तमान सरकारले गरेका सबै काम पूर्ण रूपमा सफल भएको दाबी गर्न नसकिने बताउँदै नागरिकका मौलिक अधिकारको सुनिश्चितता, सम्मानपूर्वक बाँच्न पाउने अधिकार तथा ‘सुखी नेपाली, समृद्ध नेपाल’ को राष्ट्रिय लक्ष्य कार्यान्वयनमा सरकार अपेक्षाअनुसार अघि बढ्न नसकेको आरोप लगाइन्।

त्यसै क्रममा उनले नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलमाथि भइरहेको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको प्रसंग पनि उठाइन्। पर्याप्त प्रमाणबिना पटक–पटक हिरासतको म्याद थप्दै अनुसन्धान गर्नु न्यायोचित नहुने उनको भनाइ थियो।

यदि अनुसन्धानबाट कुनै ठोस प्रमाण फेला नपरे सरकार पौडेलको प्रतिष्ठा र मानहानिको जिम्मेवारी लिन तयार छ कि छैन भन्ने प्रश्नसमेत उनले संसद्मा उठाइन्।

प्रकाशित मिति: १८ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com