काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले राष्ट्रपति रामचन्द्र पौडेलमाथि संविधान, राष्ट्रियता र राष्ट्रपतिको संवैधानिक भूमिकाको रक्षा गर्न नसकेको आरोप लगाउँदै नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।

बिहीबार पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै साहले राष्ट्रपति पौडेलले आफ्नो संवैधानिक जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको दाबी गरे। उनले राष्ट्रपतिले स्वतन्त्र र निष्पक्ष भूमिकाभन्दा सरकारको निर्णय अनुमोदन गर्ने भूमिकामा सीमित भएको आरोपसमेत लगाए।

साहले जेनजी आन्दोलनका क्रममा राष्ट्रपति संविधानको संरक्षकको भूमिकामा प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको दाबी गर्दै त्यसबेलाका घटनाक्रमप्रति पनि असन्तुष्टि व्यक्त गरे।

उनले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गरेको निर्णयको पनि विरोध गरे। साहका अनुसार उक्त कानुनले विदेशी नागरिकलाई समेत सम्बन्धित कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न सक्ने व्यवस्था गरेको छ, जुन राष्ट्रिय हितविपरीत रहेको उनको दाबी छ।

यस्तै, विदेशी नागरिकलाई सरकारी सेवामा प्रवेश तथा वंशजको नागरिकतासम्बन्धी व्यवस्थामा पनि राष्ट्रपति सरकारले अघि सारेका कदमप्रति मौन बसेको आरोप उनले लगाए।

साहले राष्ट्रपति पौडेलले पद तथा गोपनीयताको शपथअनुसार आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको दाबी गर्दै सरकारको दबाबमा संवैधानिक भूमिकाबाट विचलित भएको आरोप लगाए।

सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गर्ने विषयमा पनि उनले प्रश्न उठाउँदै विधिसम्मत रूपमा नियुक्त भएका पदाधिकारीलाई हटाउने प्रक्रियामा राष्ट्रपति सहमत हुनु अनुचित भएको टिप्पणी गरे।

दरबार हत्याकाण्डबारे सरकारले छानबिन गर्ने निर्णय गरेको प्रसंग उल्लेख गर्दै साहले उक्त घटना भएको समयमा तत्कालीन गृहमन्त्रीको जिम्मेवारीमा रहेका व्यक्तिका रूपमा पनि राष्ट्रपति पौडेलले नैतिक जिम्मेवारी लिनुपर्ने धारणा व्यक्त गरे।

संसद्को अधिवेशन आह्वान भइसकेपछि अधिवेशन सुरु हुनुअघि नै स्थगित गरेर अध्यादेश जारी गरिएको विषयमा पनि राष्ट्रपति मौन बसेको आरोप लगाउँदै साहले राष्ट्रपति पदबाट अलग हुनु नै देश र जनताको हितमा हुने दाबी गरे।

प्रकाशित मिति: १८ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com