हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। सोमबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले विश्वासको मत लिने प्रक्रिया अघि नबढाई राजीनामा दिने निर्णय सार्वजनिक गरेका हुन्।

प्रदेशसभामा आफ्नो सरकारको पक्षमा आवश्यक बहुमत नपुग्ने निश्चित भएपछि बानियाँले पद त्यागको घोषणा गरेका हुन्। उनले प्रदेशमा थप राजनीतिक अस्थिरता निम्त्याउन नहुने भन्दै नयाँ सरकार गठनका लागि बाटो खुला गर्न राजीनामा दिने निर्णय गरेको बताए।

१०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार जोगाउन कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्छ। तर, बानियाँ नेतृत्वको सरकारको पक्षमा नेपाली कांग्रेसका ३६ र सरकारमा सहभागी हाम्रो नेपाली पार्टीका दुई गरी ३८ सांसद मात्रै देखिएका थिए। आवश्यक बहुमतका लागि थप १५ सांसदको समर्थन जुटाउन नसकेपछि उनले विश्वासको मतको सामना नगरी पदबाट अलग हुने निर्णय गरेका हुन्।

यसअघि गत साउन ६ गते तत्कालीन सत्ता साझेदार नेकपा एमालेले सरकारमा रहेका आफ्ना ६ मन्त्रीलाई फिर्ता बोलाउँदै समर्थनसमेत फिर्ता लिएपछि कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको थियो। त्यसयता बागमतीमा नयाँ सत्ता समीकरण निर्माणका लागि विभिन्न दलबीच छलफल र प्रयास हुँदै आएका थिए।

एमाले र नेकपाबीच नयाँ गठबन्धन बने पनि नयाँ सरकार गठनका लागि आवश्यक स्पष्ट बहुमत भने अझै सुनिश्चित हुन सकेको छैन। यही राजनीतिक अन्योलका बीच मुख्यमन्त्री बानियाँले प्रदेशसभाबाटै राजीनामाको घोषणा गरेका हुन्।

संवैधानिक व्यवस्थाअनुसार सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यता थियो। सोहीअनुसार बानियाँले भदौ १ गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका थिए। तर, अन्तिम समयसम्म पनि बहुमत जुट्ने अवस्था नबनेपछि उनले विश्वासको मतको प्रक्रिया अघि नबढाई राजीनामा दिने निर्णय गरेका हुन्।

प्रकाशित मिति: १ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com