काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश कार्कीले गणेश नेपालीको मृत्युको घटनालाई औपचारिक श्रद्धाञ्जलीमा मात्र सीमित नगरी त्यसका वास्तविक कारण खोजेर राज्य प्रणाली सुधारतर्फ अघि बढ्नुपर्ने बताएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै कार्कीले सदनमा धेरै सांसदहरूले घटनाप्रति श्रद्धाञ्जली व्यक्त गरिरहेको उल्लेख गर्दै त्यसलाई केवल औपचारिकता वा भावनात्मक प्रतिक्रियामा सीमित नगर्न आग्रह गरे।
उनले गणेश नेपालीको आत्मदाहको कारणबारे विभिन्न दाबी सार्वजनिक भइरहेकाले तथ्यमा आधारित निष्कर्ष निकाल्न आवश्यक रहेको बताए। ‘१० हजार रुपैयाँ जरिवानाकै कारण आत्मदाह भएको हो कि होइन, यसको निष्पक्ष छानबिन हुनुपर्छ। भावनाभन्दा सत्य महत्वपूर्ण हुन्छ, किनभने मान्छेको जीवनभन्दा ठूलो विषय अर्को छैन,’ उनले भने।
सांसद कार्कीले नेपालमा दैनिक औसत १८ जनाले आत्महत्या गर्ने र करिब ८० जनाले आत्महत्याको प्रयास गर्ने तथ्यांक उल्लेख गर्दै यसलाई गम्भीर सामाजिक, आर्थिक र मनोवैज्ञानिक चुनौतीका रूपमा लिनुपर्ने बताए। उनले यस्ता घटनाको मूल कारण पहिचान गरी राज्यले प्रभावकारी नीति र कानुनमार्फत समाधान खोज्नुपर्ने आवश्यकता औंल्याए।
कानुन निर्माण गर्ने सर्वोच्च थलो संसद् नै भएको स्मरण गराउँदै उनले यस्ता दुःखद घटना दोहोरिन नदिन आवश्यक कानुनी र नीतिगत सुधार गर्न सांसदहरूको ध्यानाकर्षण गराए।
आफू पनि राज्य संयन्त्रको एक हिस्सा भएको उल्लेख गर्दै कार्कीले यस घटनाप्रति आफ्नो नैतिक जिम्मेवारी स्वीकार गरे। उनले पीडितप्रति श्रद्धाञ्जली व्यक्त गर्दै व्यक्तिगत आरोप–प्रत्यारोपभन्दा प्रणाली सुधार र नागरिकको जीवन रक्षा गर्ने दिशामा सरकार र संसद् दुवै गम्भीर हुनुपर्नेमा जोड दिए।
प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार













प्रतिक्रिया