काठमाडौं । सिरहाको गोलबजार नगरपालिका–७ मा वर्षाको पानी जमेर बनेको पोखरीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।
आइतबार स्थानीय पशु बजार नजिक पानी जमेर बनेको अस्थायी पोखरीमा नुहाउने क्रममा उनीहरू डुबेको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा स्थानीय अब्बास खानका १२ वर्षीया छोरी सवनम खातुन, १० वर्षीया छोरी रुविना खातुन र ८ वर्षीय छोरा सैफुल शेख रहेका छन्। तीनै जना दाजुभाइ–दिदीबहिनी हुन्।
घटनाको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली घटनास्थल पुगेको थियो। उद्धारपछि तीनै जनालाई पोखरीबाट बाहिर निकालिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
स्थानीयका अनुसार वर्षायाममा पशु बजार क्षेत्रमा रहेको गहिरो खाल्डोमा पानी भरिएपछि अस्थायी पोखरी बनेको थियो। खेल्ने क्रममा बालबालिका त्यहीँ पुगेका र नुहाउने क्रममा गहिरो पानीमा डुबेका हुन्।
घटनापछि स्थानीय क्षेत्रमा शोक छाएको छ। स्थानीयवासीले वर्षायाममा खुला खाल्डाखुल्डी र पानी जम्ने जोखिमयुक्त स्थानको व्यवस्थापन तथा निगरानी प्रभावकारी बनाउन सम्बन्धित निकायसँग माग गरेका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ। पाँच जना बालबालिका डुबेको चर्चा चले पनि हालसम्म तीन जनाको मृत्यु भएको मात्र आधिकारिक रूपमा पुष्टि भएको छ भने अन्य विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २८ असार २०८३, आइतबार












प्रतिक्रिया