गोरखा । गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई निष्पक्ष, पारदर्शी र नागरिकप्रति उत्तरदायी भएर काम गर्न निर्देशन दिएका छन्। उनले अपराध अनुसन्धानमा कुनै पनि प्रकारको पक्षपात नगर्न, भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउन र जनताले सुशासनको अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न प्रहरीलाई आग्रह गरेका हुन्।

शनिबार जिल्ला प्रहरी कार्यालय गोरखाको निरीक्षण तथा अनुगमनका क्रममा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले सबै तहका प्रहरी कर्मचारीलाई कानुनको निष्पक्ष कार्यान्वयन गर्दै विवादरहित अनुसन्धानमा केन्द्रित हुन निर्देशन दिए।

उनले प्रहरी सेवा नागरिकमैत्री, छिटो, प्रभावकारी र विश्वासिलो हुनुपर्नेमा जोड दिँदै जनताप्रति जिम्मेवार र जवाफदेही भएर काम गर्न आग्रह गरे। शान्ति सुरक्षा सुदृढ बनाउँदै उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गर्न उनले प्रहरी संगठनलाई निर्देशन दिए।

गृहमन्त्री गुरुङले भ्रष्टाचार नियन्त्रण सरकारको प्रमुख प्राथमिकता भएको उल्लेख गर्दै कुनै पनि अवस्थामा अनियमिततालाई प्रश्रय नदिन र सुशासनलाई व्यवहारमै कार्यान्वयन गर्न प्रहरी कर्मचारीलाई सचेत गराए।

निरीक्षणका क्रममा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक अनिल खड्काले जिल्लाको सुरक्षा अवस्था, अपराध नियन्त्रण, अनुसन्धान तथा समग्र प्रहरी गतिविधिबारे प्रस्तुतीकरण गरेका थिए।

कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक दीपेन्द्रबहादुर जिसी, गण्डकी प्रदेश सशस्त्र प्रहरी बलका प्रमुख प्रवीण कडेल, गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठ तथा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय गोरखाका उपअनुसन्धान निर्देशक पवन जोशीलगायत सुरक्षा निकायका अधिकारीहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति: २ श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com