बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ। केन्द्रमा विकसित नयाँ राजनीतिक समीकरणअनुसार मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कांग्रेसका पाँच मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका हुन्।

कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री आचार्यलाई समर्थन फिर्ताको पत्र बुझाउँदै कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको सामूहिक राजीनामा समेत बुझाएकी छन्।

राजीनामा दिनेमा सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना र वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवार रहेका छन्।

केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै त्यसको प्रभाव प्रदेश सरकारमा समेत परेको हो। सोहीअनुसार कांग्रेसले लुम्बिनी प्रदेश सरकारबाट बाहिरिने निर्णय गर्दै आफ्ना मन्त्रीहरूलाई राजीनामा गराएको हो।

कांग्रेस सरकारबाट बाहिरिएसँगै लुम्बिनीमा नयाँ सत्ता समीकरणअनुसार सरकार गठनको तयारी अघि बढेको छ। नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच संयुक्त सरकार गठनका लागि छलफल भइरहेको बताइएको छ।

नयाँ सरकारमा मन्त्रीहरूको नियुक्ति, मन्त्रालय बाँडफाँट तथा सरकार गठनको प्रारूपबारे दुवै दलका शीर्ष नेताबीच छलफल भइरहेको जनाइएको छ।

प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com