काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा विकसित सुरक्षा अवस्था र सामाजिक तनावबारे छलफल गर्न मधेशकेन्द्रित राजनीतिक दलका शीर्ष नेताहरूसँग उच्चस्तरीय बैठक गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी बैठकमा पछिल्ला घटनाक्रम, सामाजिक सद्भाव कायम गर्ने उपाय, शान्ति–सुरक्षाको अवस्था तथा तनाव समाधानका सम्भावित राजनीतिक र प्रशासनिक पहलका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, जसपा नेपालका नेता लालबाबु राउत, नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष समिम मियाँ अन्सारी, नेपाल समाजवादी पार्टीका अध्यक्ष राम के. शर्मा, आम जनता पार्टीका अध्यक्ष प्रभु शाह, प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारी तथा जयकान्त राउतलगायतका नेताहरू सहभागी छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सुनसरीबाट सुरु भई मधेशका केही जिल्लासम्म फैलिएको तनावलाई शान्तिपूर्ण रूपमा समाधान गर्ने उपाय, सामाजिक सद्भाव सुदृढ बनाउने रणनीति तथा सबै पक्षबीच समन्वय बढाउने विषयमा केन्द्रित भएर छलफल भइरहेको छ।
प्रकाशित मिति: १५ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया