काठमाडौं । नेपाल–तिब्बत सीमा क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे प्रारम्भिक अनुमानभन्दा फरक तथ्य वैज्ञानिक विश्लेषणबाट बाहिर आएको छ। वैज्ञानिकहरूका अनुसार बाढीको मुख्य कारण हिमनदीको ठूलो हिस्सा भत्किनु (ग्लेसियर कोल्याप्स) र त्यससँगै आएको आइस–रक एभालञ्च हो।

घटनाको सुरुवाती चरणमा भूकम्पका कारण पहिरो गएर बाढी आएको हुन सक्ने अनुमान गरिएको थियो। तर अमेरिकी भौगर्भिक सर्वेक्षण (USGS) को तथ्यांक तथा घटनाको अध्ययन गरिरहेका वैज्ञानिकहरूको विश्लेषणले भूकम्प नभई हिमनदी भत्किएको घटनासँग बाढी जोडिएको देखाएको हो।

हिमनदी वा त्यसको कुनै ठूलो हिस्सा अचानक भत्किएर तल खस्ने प्रक्रियालाई ‘ग्लेसियर कोल्याप्स’ भनिन्छ। वैज्ञानिकहरूका अनुसार लाङटाङ लिरुङ क्षेत्रको हिमनदीको तल्लो भाग भत्किएर ठूलो परिमाणमा हिउँ, बरफ, चट्टान र लेदो तलतर्फ खसेको थियो।

लाङटाङ लिरुङमा के भयो ?

युनिभर्सिटी अफ डन्डीका हिमनदी विशेषज्ञ डा. साइमन कुक नेतृत्वको अध्ययनअनुसार नेपालतर्फ पर्ने लाङटाङ लिरुङ चुचुरो नजिकको हिमनदीको तल्लो भाग भत्किएको देखिएको छ। उक्त स्थान बाढी प्रभावित क्षेत्रभन्दा करिब १५ किलोमिटर पश्चिममा पर्छ।

डा. कुकले बीबीसीसँग बताएअनुसार हिमनदी उत्तर–पश्चिम दिशातर्फ भत्किएर तल झरेको र त्यसपछि पश्चिमतर्फ बगेको हुन सक्ने देखिएको छ।

हिमनदीको ठूलो हिस्सा उपत्यकाको फेदीमा खस्दा उत्पन्न भएको कम्पनसमेत ५.२ म्याग्निच्युडको भूकम्प बराबर शक्तिशाली रेकर्ड भएको वैज्ञानिक विश्लेषणले देखाएको छ। यही कारण सुरुवाती चरणमा घटनालाई भूकम्पसँग जोडेर हेरिएको हुन सक्ने वैज्ञानिकहरूको भनाइ छ।

लेन्दे खोलामा मिसियो हिउँ, चट्टान र लेदो

इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (ICIMOD) को विश्लेषणले पनि उच्च हिमाली क्षेत्रबाट ठूलो मात्रामा हिउँ र चट्टानसहितको एभालञ्च खसेको संकेत गरेको छ।

हिमनदीबाट खसेका हिउँ, बरफ र चट्टानका अवशेषहरू भोटेकोशी नदीको सहायक लेन्दे खोलामा मिसिएपछि नदीको बहाव एकाएक बढेको थियो। त्यससँगै हिलो, लेदो, ढुंगा र गिट्टी मिसिएको तीव्र बहाव तल्लो तटीय क्षेत्रमा पुगेको थियो।

इसिमोड का अनुसार बाढीको पानीको सतह केही तल्लो नदी क्षेत्रमा करिब ३० मिनेटमै ७ देखि ९ मिटरसम्म बढेको थियो। बाढीको अत्यधिक वेगका कारण पानीको बहाव मापन गर्ने केही स्टेसनसमेत बग्नुका साथै क्षतिग्रस्त भएका छन्।

भिडियोमा देखिएको विनाशको कारण

घटनापछि सार्वजनिक भएका भिडियोहरूमा साँघुरो पहाडी खोँच हुँदै ढुंगा, हिलो, लेदो र पानीको ठूलो मात्रा अत्यन्त तीव्र गतिमा बगेको देखिन्छ। वैज्ञानिकहरूका अनुसार हिमनदीबाट खसेको ठूलो परिमाणको बरफ र चट्टान खोलामा मिसिएपछि त्यसले पानीको बहावलाई असामान्य रूपमा शक्तिशाली बनाएको हो।

हालसम्म बुधबार हिमनदी किन भत्कियो भन्ने कारण भने पूर्ण रूपमा स्पष्ट भइसकेको छैन।

जलवायु परिवर्तनसँग कस्तो सम्बन्ध ?

वैज्ञानिकहरूले हिमनदी भत्किने प्रत्येक घटना जलवायु परिवर्तनकै कारण भएको भनेर तत्काल ठोकुवा गर्न नसकिने बताएका छन्। तर हिमालय क्षेत्रमा तापक्रम वृद्धि, हिमनदी पग्लिने क्रम र पर्माफ्रोस्ट कमजोर हुँदै जानुले यस्ता विपद्को जोखिम बढाइरहेको उनीहरूको निष्कर्ष छ।

पर्माफ्रोस्ट भनेको लामो समयदेखि जमेको माटो र चट्टान हो। तापक्रम बढ्दै जाँदा यस्तो जमिन पग्लिएर पहाडी भूभाग कमजोर हुन सक्छ। त्यसबाट पहिरो, आइस–रक एभालञ्च, हिमताल फुट्ने तथा हिमनदी भत्किने जोखिम बढ्न सक्छ।

इसिमोड का विशेषज्ञ मोहम्मद फारुक आजमले हिमालयको क्रायोस्फियर अर्थात् हिउँ र बरफले ढाकिएको भूभागमा जोखिम तीव्र गतिमा बढिरहेको बताएका छन्। उनका अनुसार परिवर्तनको गति निकै तीव्र भएकाले त्यसलाई सामना गर्न भइरहेका वर्तमान प्रयास पर्याप्त नहुन सक्छन्।

हिमालयमा बढ्दो जोखिमको संकेत

इसिमोड ले यस वर्ष सार्वजनिक गरेको विश्लेषणअनुसार हिन्दुकुश हिमालय क्षेत्रका हिमनदीहरूले सन् २००० को तुलनामा अहिले करिब दोब्बर दरमा बरफ गुमाइरहेका छन्। वैज्ञानिकहरूका अनुसार हिमनदीमा भइरहेको तीव्र परिवर्तनले हिमताल फुट्ने, पहिरो जाने र अचानक बाढी आउने जोखिम बढाउन सक्छ।

डा. साइमन कुकका अनुसार पछिल्ला वर्षहरूमा भारत, स्विट्जरल्यान्ड र इटालीमा समेत हिमनदी भत्किएर बाढी तथा पहिरोका घटना भएका छन्।

यसअघि सन् २०२१ मा भारतको उत्तराखण्डस्थित चमोली क्षेत्रमा हिमनदीको ठूलो हिस्सा भत्किँदा ढुंगा, हिलो र पानीसहितको भीषण बहाव आएको थियो। उक्त घटनामा करिब २०० जनाको मृत्यु भएको थियो।

नेपालकै लाङटाङ क्षेत्रमा पनि गत वर्ष तिब्बततर्फको हिमताल फुट्दा बाढी आएको घटना भएको थियो।

वैज्ञानिकको चेतावनी

डा. कुकका अनुसार पृथ्वीको तापक्रम बढ्दै जाँदा हिमनदी खुम्चिनु र ठूलो मात्रामा बरफ पग्लिनुका साथै पहाडी भूभागलाई थामेर राख्ने पर्माफ्रोस्ट कमजोर हुने जोखिम बढ्छ। त्यसले पहिरो, हिमनदी भत्किने, हिमताल फुट्ने तथा ढुंगा–हिलोसहितको अचानक बाढीजस्ता घटना बढाउन सक्छ।

यस घटनाले हिमालयमा जलवायु परिवर्तन र तीव्र गतिमा भइरहेको हिमनदी परिवर्तनले सिर्जना गरिरहेको जोखिमलाई फेरि गम्भीर रूपमा सतहमा ल्याएको वैज्ञानिकहरूको निष्कर्ष छ।

प्रकाशित मिति: ११ भाद्र २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com