काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेका बेला चीनले नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ। चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुई वटा वाई–२० (Y-20) ठूला मालवाहक विमान आइतबार बिहान करिब ७ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्।

चीनबाट पठाइएका विमानमा राहत सामग्रीसँगै सुरुङ उद्धारसम्बन्धी चार जना चिनियाँ विशेषज्ञ र आवश्यक उद्धार उपकरणसमेत आएका छन्। रसुवालगायत विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन चिनियाँ सहयोग उपयोगी हुने अपेक्षा गरिएको छ।

राहत सामग्री हस्तान्तरण समारोहमा नेपालका लागि चिनियाँ राजदूत महामहिम झाङ माओमिङ, नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन तथा संघीय संसद् प्रतिनिधिसभाका सदस्य धर्म केसी सहभागी भए। सो अवसरमा नेपाली अधिकारीहरूले चिनियाँ उद्धार विशेषज्ञहरूको स्वागतसमेत गरेका थिए।

दुवै वाई–२० विमान चीनको छेन्दुस्थित शुआङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका थिए। करिब तीन घण्टाको उडानपछि ती विमान काठमाडौं आइपुगेका हुन्।

चिनियाँ सहयोगअन्तर्गत १३ हजार २०० वटा आपत्कालीन राहत सामग्री नेपाल ल्याइएको छ। सामग्रीमा पाल, कम्बल, सुत्ने झोला, हार्ड ट्याक तथा प्राथमिक उपचारका किटलगायत छन्। ती सामग्रीको कुल तौल ५० टन रहेको छ।

रसुवामा बाढी तथा विपद्का कारण उद्धार र राहतको आवश्यकता बढिरहेका बेला चीनबाट आएको यो सहयोगले प्रभावित नागरिकका लागि आवश्यक सामग्री उपलब्ध गराउन तथा उद्धार टोलीलाई थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

चार चिनियाँ सुरुङ उद्धार विशेषज्ञले सुरुङ तथा भग्नावशेषमा फसेका व्यक्तिको खोज तथा उद्धारमा नेपाली पक्षलाई प्राविधिक सहयोग गर्ने अपेक्षा गरिएको छ। चीनको सहयोगले विपद् व्यवस्थापन तथा मानवीय उद्धारका क्षेत्रमा नेपाल–चीन सहकार्यलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

प्रकाशित मिति: १४ भाद्र २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com