काठमाडौं। बाढी तथा पहिरोबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकलाई राहत तथा मानवीय सहयोग उपलब्ध गराउने उद्देश्यले नेपाली कम्युनिस्ट पार्टी निकट युवा संघ नेपालले प्रभावित क्षेत्रमा राहत सामग्री वितरण गरेको छ।
युवा संघ नेपालका संयोजक धर्मबहादुर शाहीको नेतृत्वमा परिचालित टोलीले रसुवा तथा नुवाकोटका विभिन्न प्रभावित क्षेत्रमा पुगेर बाढी तथा पहिरोपीडित परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको हो।
राहत वितरणका क्रममा टोलीले प्रभावित नागरिकसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको अवस्था, समस्या तथा तत्काल आवश्यकताबारे जानकारीसमेत लिएको जनाएको छ।
विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकलाई आवश्यक सहयोग यथाशीघ्र उपलब्ध गराउने उद्देश्यले राहत अभियान सञ्चालन गरिएको युवा संघ नेपालले जनाएको छ। राहत सामग्री वितरणसँगै प्रभावित क्षेत्रमा आवश्यक मानवीय तथा स्वयंसेवी सहयोगलाई पनि निरन्तरता दिइने संघको भनाइ छ।
युवा संघ नेपालले विपद्पछिको पुनर्स्थापना र पुनर्निर्माणका कार्यमा समेत युवा स्वयंसेवक परिचालन गर्ने योजना बनाएको जनाएको छ। प्रभावित क्षेत्रमा सरसफाइ, भग्नावशेष व्यवस्थापन, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा आवश्यक श्रमदानका लागि स्वयंसेवक परिचालन गरिने बताइएको छ।
संघले विपद् प्रभावित नागरिकको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि सरकारी तथा सम्बन्धित निकाय, सामाजिक संघसंस्था र स्वयंसेवकबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको पनि जनाएको छ।
विपद्को घडीमा प्रभावित नागरिकलाई राहत सामग्री मात्र नभई दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणमा समेत सहयोग आवश्यक पर्ने उल्लेख गर्दै युवा संघ नेपालले आफ्नो स्वयंसेवी अभियानलाई प्रभावित क्षेत्रमा निरन्तरता दिने जनाएको छ।
प्रकाशित मिति: २१ भाद्र २०८३, आइतबार












प्रतिक्रिया