भरतपुर । चितवनमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा ४३ वटा सवारी दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ भने ८७ जना घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार साउनमा २३ दुर्घटनामा ५ जनाको मृत्यु र ६० जना घाइते भएका थिए । भदौमा दुर्घटना घटेर २० वटा भए पनि मृत्यु हुनेको संख्या बढेर १० पुगेको छ । भदौमा २७ जना घाइते भएका छन् ।
ट्राफिक प्रहरीका अनुसार तीव्र गति, लापरबाही, ट्राफिक नियम उल्लङ्घन र सवारीसाधनको चाप दुर्घटनाका प्रमुख कारण हुन् । गत आर्थिक वर्षमा चितवनमा ५४५ दुर्घटना हुँदा १०५ जनाको मृत्यु र ९०२ जना घाइते भएका थिए ।
दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले जाँच तथा कारबाहीलाई तीव्र बनाएको छ । दुई महिनामा नियम उल्लङ्घन गर्ने ३ हजार ५५२ सवारीसाधन कारबाहीमा परेका छन् । कारबाहीबाट ३१ लाख ४८ हजार ५०२ रुपैयाँ राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ ।
प्रहरीले नियमित सवारी जाँचसँगै चालक, विद्यार्थी र सर्वसाधारणलाई लक्षित गरी सडक सुरक्षा तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । दुर्घटना न्यूनीकरणका लागि चालक, यात्रु र पैदलयात्री सबैले सडक नियमको पालना गर्नुपर्नेमा प्रहरीले जोड दिएको छ ।
प्रकाशित मिति: ९ आश्विन २०८३, शुक्रबार











प्रतिक्रिया