ग्वालियर । भारतको मध्य प्रदेशस्थित ग्वालियरमा धान बोकेको अनियन्त्रित ट्रकले तीर्थयात्रीहरूलाई ठक्कर दिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। घाइतेमध्ये पाँचदेखि छ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्।

शीतला माता मन्दिर नजिकै आइतबार बिहान करिब १ः३० बजे दुर्घटना भएको हो। वरिष्ठ प्रहरी अधीक्षक धर्मवीर सिंहका अनुसार चिनोरबाट मन्दिरतर्फ आउँदै गरेको ट्रकले ओरालो सडकमा नियन्त्रण गुमाएको थियो।

अनियन्त्रित ट्रकले प्रहरीका अवरोध तोड्दै तीर्थयात्रीहरूलाई ठक्कर दिएको थियो। त्यसपछि ट्रक मन्दिरको बाहिरी पर्खाल र ढोकामा समेत ठोक्किएको थियो। उक्त सडकमा भारी सवारीसाधन सञ्चालन गर्न प्रतिबन्ध लगाइएको अधिकारीहरूले बताएका छन्।

दुर्घटनापछि ३९ जनालाई अस्पताल पुर्‍याइएको र तीमध्ये १२ जनाको मृत्यु भएको सिंहले जानकारी दिए। घटनामा ड्युटीमा खटिएका दुई प्रहरी कर्मचारीसमेत घाइते भएका छन्।

ग्वालियरकी जिल्ला अधिकारी रुचिका चौहानका अनुसार उद्धारका लागि तत्काल एम्बुलेन्स तथा अन्य सवारीसाधन परिचालन गरिएको थियो। दुर्घटनाको कारण पत्ता लगाउन ट्रकको प्राविधिक परीक्षण गरिने भएको छ।

नवरात्रका बेला राखिएका प्रहरी अवरोध र जाँच चौकी पार गरेर ट्रक प्रतिबन्धित सडकमा कसरी प्रवेश गर्‍यो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।

एक प्रत्यक्षदर्शीले ट्रकमा क्षमताभन्दा बढी भार रहेको दाबी गरेका छन्। उनका अनुसार ट्रकले पसल र मानिसहरूलाई समेत ठक्कर दिएको थियो। दुर्घटनामा प्रत्यक्षदर्शीका भाइ पनि घाइते भएका छन्।

प्रकाशित मिति: २ कार्तिक २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com