काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। एमाले नेता शेरबहादुर तामाङले सरकारको परराष्ट्र नीति र छिमेकी मुलुकसँगको सम्बन्ध सञ्चालन गर्ने शैलीमाथि प्रश्न उठाएका हुन्।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै तामाङले सरकार परिवर्तन हुँदैमा नेपालको असंलग्न र सन्तुलित परराष्ट्र नीति परिवर्तन हुन नहुने बताए।

‘सरकार फेरिए पनि असंलग्न र सन्तुलित परराष्ट्र नीति डगमगाउनु हुँदैन। अर्थमन्त्री वाग्लेले भारत भ्रमणका क्रममा किन लम्पसार पर्नुपरेको हो, त्यो बुझ्न सकिएन,’ उनले भने।

तामाङले नेपाल–भारतबीच ऐतिहासिक जनस्तरीय सम्बन्ध रहे पनि राजनीतिक र प्रशासनिक तहमा अपेक्षाअनुसार सुमधुर सम्बन्ध कायम हुन नसकेको बताए। उनले कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका सीमा विवाद तथा दसगजा क्षेत्रमा सीमा स्तम्भ सारिएको विषय उल्लेख गर्दै नेपालको भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानका सवालमा सरकार गम्भीर हुनुपर्ने धारणा राखे।

उनले विगतमा भारतीय प्रहरी बानेश्वरसम्म आएर छापा मारेको प्रसङ्गसमेत उठाउँदै यस्ता विवादित विषय समाधान गरेर मात्रै दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउनुपर्ने बताए। भारत र चीन दुवैसँग सन्तुलित र सुमधुर सम्बन्ध कायम राख्नुपर्नेमा पनि उनले जोड दिए।

प्रधानमन्त्री बालेन शाहको आगामी भारत भ्रमणका क्रममा १८ हजार मेगावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत् आयोजना अघि बढाउने सम्झौता गर्न पनि तामाङले सुझाव दिए। आयोजना अघि बढे दुवै देशलाई आर्थिक लाभ पुग्ने र नेपाली नागरिकलाई घरायसी प्रयोजनका लागि निःशुल्क बिजुली उपलब्ध गराउन सकिने उनको दाबी छ।

तामाङले चाडबाडका बेला बढेको महँगी नियन्त्रण गर्न सरकारसँग माग गर्दै वर्तमान सरकारका ठोस उपलब्धिमाथि पनि प्रश्न उठाए। ‘बालेन शाह नेतृत्वको सरकारले यति काम गर्‍यो भनेर ठ्याक्कै देखाउन सक्ने कुनै ठोस उपलब्धि हासिल गर्न सकेको छैन,’ उनले भने।

एमाले तत्काल सडक आन्दोलनमा जाने पक्षमा नरहेको स्पष्ट पार्दै उनले सरकारले जनअपेक्षाअनुसार काम नगरे संसद् र सडकबाट सशक्त खबरदारी गर्ने चेतावनी दिए।

प्रकाशित मिति: ९ कार्तिक २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com