काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाउने वा राजीनामा गराउने विषयमा चर्चा भइरहेका बेला प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसी र नारायण भण्डारी ‘समाजसेवी’ बीच भएको भनिएको टेलिफोन संवादको अडिओ सार्वजनिक भएको छ।
खगेन्द्र सुनारका निकट सहयोगीका रूपमा चिनिएका भण्डारी र एआईजी केसीबीच भएको भनिएको उक्त संवादमा प्रहरी नेतृत्व परिवर्तन, आईजीपीको सम्भावित राजीनामा, अदालतको पेशी तथा गृहमन्त्रीको भेटघाटसम्मका विषय उठाइएको सुनिन्छ।
अडिओमा कुराकानी गर्ने भण्डारी थरका व्यक्ति सुनारका निकट सहयोगी तथा साझेदार रहेको स्रोतको दाबी छ। उक्त अडिओमा भण्डारीले एआईजी केसीलाई ‘दाइ नमस्ते’ भन्दै सम्बोधन गरेको सुनिन्छ।
नारायण भण्डारी तिनै व्यक्ती हुन जसले एक पुर्व प्रदेश मन्त्रीको स्वकिय सचिव किरण नेपालीलाई आइजीपि दानबहादुर कार्कीले रास्वपाबाट निर्वाचित सांसद खगेन्द्र सुनारको अडियो दिए बापत दुबईमा अपार्टमेन्ट र १२ करोड दिएको भन्ने विवादित अडियो प्रकरणमा जोडिएका थिए। नारायण भण्डारीको एआईजी मनोज केसी सङ्ग भएको कुराकानी र खगेन्द्र सुनार सङ्ग सम्बन्धित अडियोले नारायण भण्डारी सङ्गै एआईजी मनोज केसी आइजीपि दानबहादुर कार्की विरुद्द योजनाबद्ध रुपमा लागेको देखिन्छ।
जवाफमा केसीले ‘नमस्ते नमस्ते, कता?’ भन्छन्।
त्यसपछि भण्डारीले आफू बिहानैदेखि विभिन्न ठाउँमा दौडधुपमा रहेको र ‘उहाँ काभ्रेतिर जानुभयो’ भन्दै पछिल्लो घटनाक्रमबारे जानकारी गराउँछन्।
कुराकानीकै क्रममा एआईजी केसीले ‘आज त पेशी थियो नि है’ भनेर प्रश्न गर्छन्। जवाफमा भण्डारीले ‘हो, आज पेशी थियो, हिजै सरिसकेको थियो’ भन्छन्।
त्यसपछि भण्डारीले प्रहरी नेतृत्व परिवर्तनको चर्चाबारे गम्भीर दाबी गर्छन्। उनी भन्छन्, ‘त्यो अघि चाहिँ भोलि १०० प्रतिशत राजीनामा दिने भन्ने भयो दाइ।’ उक्त कुरा सुनेपछि केसीले ‘अँ’ भनेर प्रतिक्रिया दिएको सुनिन्छ।
भण्डारीले त्यसपछि आईजीपी र विश्व अधिकारीबीच भएको भनिएको भेटबारे समयसहित जानकारी गराउँछन्। उनको भनाइअनुसार उनीहरू १६:५५ बजे भेट्न गएको र १७:५० बजे बाहिरिएका थिए। तर उनीहरूबीच के कुराकानी भयो भन्ने आफूलाई थाहा नभएको भण्डारीले बताएका छन्।
कुराकानीमा गृहमन्त्रीसँगको भेटको प्रसंगसमेत आउँछ। भण्डारीले गृहमन्त्रीज्यूले माननीयलाई भेट्ने कुरा गरेको र सम्भवतः भोलिपल्ट बिहान ९ बजे केही हुने बताएका छन्।
कुराकानीको अर्को हिस्सामा ‘राजन दाइ’को विषय मिडियामा आइसकेको र ‘सुनिल’ले केही गरेको भन्ने प्रसङ्गसमेत सुनिन्छ। यद्यपि अडिओको उक्त अन्तिम हिस्सा स्पष्ट नभएकाले त्यसको आशय यकिन गर्न सकिएको छैन।
संवादको अर्को हिस्सामा अधिकारीले ह्वाट्सएपमा आईजीपीको मात्र गतिविधि देखिएको र अर्का व्यक्ति पनि निगरानीमा रहेको आशय व्यक्त गरेका छन्।
भण्डारीले ‘त्यो नदेखिए पनि देखियो त, ह्वाट्सएपमा पनि आईजीको मात्र हो। नदेखिए पनि उहाँ पनि निगरानीमा हुनुहुन्छ। भोलिसम्म आफैँ जानुहुन्छ’ भनेको सुनिन्छ।
त्यसपछि एआईजी केसीले ‘त्यो त्यो पनि देखिएको’ भन्दै प्रतिक्रिया दिन्छन्। भण्डारीले पुनः ‘राजनको पनि देखिएको छ नि होइन?’ भन्दै प्रश्न गर्छन्। जवाफमा केसीले ‘अँ’ भन्दै समर्थन जनाएजस्तो सुनिन्छ। त्यसपछि ‘देखिएकै छै, उसकोभन्दा बढी’ भन्ने संवाद पनि सुनिन्छ।
भण्डारीले ‘भोलि आफैँ जान्ने भन्ने कुरा भएको छ रे। यता सुधनसँग कुरा भइरहेको छ। त्यो बुझेर म खबर गर्छु हजुरलाई’ भनेपछि एआईजी केसीले ‘हवस्, हवस्’ भन्दै संवाद टुंग्याउँछन्।
प्रहरी नेतृत्व परिवर्तनको चर्चामा बाह्य व्यक्तिको सक्रियता ?
प्रहरी नेतृत्व परिवर्तनबारे चर्चा भइरहेका बेला एआईजी तहका भण्डारी र बाह्य व्यक्तिबीच भएको भनिएको यो संवादले केही गम्भीर प्रश्न उठाएको छ। आईजीपीको राजीनामाबारे ‘१०० प्रतिशत’ दाबी गर्ने आधार के थियो?
प्रहरी नेतृत्वसँगको भेटघाट र सम्भावित राजनीतिक छलफलबारे बाह्य व्यक्तिलाई कसरी जानकारी भइरहेको थियो? प्रहरी संगठनको नेतृत्व परिवर्तनको विषयमा यस्ता संवाद किन भइरहेका थिए? निगरानीमा रहेको भनिएका व्यक्तिहरू को हुन् र त्यसको आधार के हो?
विशेषगरी ‘सुधनसँग कुरा भइरहेको छ’ भन्दै अधिकारीले एआईजी केसीलाई पछि खबर गर्ने बताएको प्रसङ्गले पनि थप चासो उत्पन्न गरेको छ।
विशेषगरी आईजीपीको सम्भावित राजीनामाको मिति, उच्च राजनीतिक भेटघाट र प्रहरी नेतृत्वसँग सम्बन्धित घटनाक्रमबारे भण्डारीले एआईजी केसीलाई जानकारी गराएको देखिन्छ।
अडियो:
प्रकाशित मिति: १६ कार्तिक २०८३, सोमबार













प्रतिक्रिया