काठमाडौं । कैलालीमा १६ वर्षअघि आफ्नी कान्छी आमाको हत्या गरेको आरोप लागेका ५८ वर्षीय प्रेमबहादुर शाही भारतबाट पक्राउ परेका छन्।
२०६७ पुस २८ गते घरायसी विवादका क्रममा शाहीले ६५ वर्षीया सुनरूपामाथि ढुंगा प्रहार गरेका थिए। टाउकोमा चोट लागेपछि उनलाई उपचारका लागि नेपालगञ्जस्थित नर्सिङ होम पुर्याइएको थियो। उपचारकै क्रममा भोलिपल्ट उनको मृत्यु भएको थियो।
घटनापछि पक्राउ पर्ने डरले शाही अस्पतालबाटै फरार भएका थिए। उनी सुरुमा बाराको सिमरा पुगेका थिए। त्यसपछि भारत गएर दिल्ली, देहरादुन र हिमाञ्चल प्रदेश हुँदै उत्तर प्रदेशको मेरठमा बसोबास गर्न थालेका थिए।
प्रहरीका अनुसार शाही १६ वर्षदेखि परिवारसँग सम्पर्कमा रहे पनि घर फर्किएका थिएनन्। उनी मेरठमा व्यापार गरेर बसिरहेको सूचना पाएपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले भारत पुगेर पक्राउ गरी नेपाल ल्याएको हो।
अनुसन्धानका क्रममा शाहीले आवेगमा आएर ढुंगा प्रहार गरेको स्वीकार गरेका छन्। हत्या गर्ने उद्देश्य नरहेको दाबी गर्दै उनले रिस थाम्न नसक्दा ढुंगा प्रहार गरेको र त्यसपछि डराएर भागेको बयान दिएका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार शाहीलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ।
प्रकाशित मिति: १७ कार्तिक २०८३, मंगलबार












प्रतिक्रिया